विराटनगरः लामो समयसम्मको सञ्चालकबीचको आधिकारिकताको विवादका कारण विराटनगर जुट मिलका उत्पादन बिक्री हुन सकेको छैन ।
गत भदौ २६ गतेदेखि मिलले सुतलीको परीक्षण उत्पादन थालेको थियो । लामो समय थन्किएर बसेका मेसिनको परीक्षण सफल भएपछि उत्पादन गरिएको २६ टन सुतली उद्योग परिसरमै थन्किएर बसेको छ । सुतली बिक्री गर्न आवश्यक पर्ने निर्णय प्रक्रियासमेत सञ्चालकको आधिकारिकतासँगै रोकिएको बताइएको छ ।
उच्च अदालत मोरङमा सञ्चालकबीचको विवाद विचाराधीन अवस्थामा छ । अध्यक्ष वसन्त वन आधिकारिक नभएको भन्दै तत्काल कामकारवाही रोक्ने मागसहित उद्योगको अफिसियट मेनेजर रहेको दावी गर्दै राजेन्द्र कार्कीले मुद्दा दायर गरेपछि अदालतले परामादेश जारी गरेको छ ।
उद्योगले उत्पादन गरेको सुतली बिक्री गर्न रोकिए पनि बोरा उत्पादनको काम भने भइरहेको छ ।
विवादको चुरो
७ सदस्यीय सञ्चालक समिति सदस्यमा वसन्त वनसहित डा.इन्दिरा पराजुली, देवचन्द्र चौधरी, मुकुन्द नेपाल र फूलकुमार लालवानी रहेका छन् । २ जना सदस्यको पूर्ति हुन बाँकी छ । मिलमा निलहरि काफ्ले २०७२ साउन ३ गते तत्कालीन मन्त्रीस्तरीय निर्णयबाट अध्यक्षमा नियुक्त भएका छन् ।
काफ्लेकै अगुवाइमा जुट मिललाई कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७२ असोज २९ गते दर्ता गरेर कम्पनी ऐन–२०६३ अनुसार प्रबन्ध पत्र र नियमावली जारी गरिएपछि २०७४ बैशाख ४ गते भएको विशेष साधारण सभाले सञ्चालक समिति सदस्यको रूपमा वसन्त वनलाई भित्र्याएको थियो ।
३ महिनापछि साउन १२ गतेको साधारणसभाले वनलाई अध्यक्षमा निर्वाचित गर्दै काफ्लेलाई कार्यकारी अधिकारसहितको प्रबन्धक निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर, विशेष साधारणसभाले काफ्लेलाई प्रबन्धक निर्देशक बनाउन गरेको निर्णय कार्यान्वयन नगराउन भन्दै उद्योग मन्त्रालयले परिपत्र गरेपछि अध्यक्ष वन र काफ्लेबीच जुट मिलमा नेतृत्व टकराव शुरु भएको हो ।