इटहरीः प्रदेश १ को दक्षिणी र पूर्वी सिमानामा जोडिएको भारतसँग थप तीन भन्सार नाका थप्न माग गरिएको छ । झापामा २ वटा र मोरङमा एउटा भन्सार नाका थप्न माग गरिएको छ ।
झापाको झापा बजार र गौरीगञ्जमा भन्सार नाका खोल्न प्रस्ताव गरिएको छ । मोरङको मायागञ्जमा पनि भन्सार नाका खोल्न प्रस्ताव गरिएको छ । नेपाली पक्षले प्रदेश १ को झापा बजारमा तथा भारतीय पक्षले गौरीगञ्ज र मायागञ्जमा भन्सार नाका खोल्ने बारेमा प्रस्ताव गरेका थिए । नेपालभर विभिन्न ५ नयाँ भन्सार नाका खोल्ने प्रस्तावमा प्रदेश १ बाट ३ वटा भन्सार नाकाको प्रस्ताव भएको हो ।
नेपाल र भारतका भन्सार विभागका महानिर्देशकहरूको काठमाडौंमा भएको बैठकमा यस्तो प्रस्ताव आएको हो । मंसीर ३ र ४ गते काठमाडांैमा २ देशका भन्सार अधिकारीको भन्सार सहकार्य र समन्वय बैठकमा यस्तो प्रस्ताव आएको भन्सार विभागका सूचना अधिकृत शिव भण्डारीले बताए ।
हाल प्रदेश १ मा काकरभिट्टा, विराटनगर, दक्षिणी सुनसरी र पशुपतिनगरमा मुख्य चारवटा भन्सार कार्यालय रहेका छन् । प्रदेश १ मै यी मुख्य भन्सार कार्यालय अन्तर्गत विभिन्न ३६ वटा छोटी भन्सार कार्यालय रहेका छन् ।

सुनसरीबाट थप भन्सार नाका खोल्न परेन प्रस्ताव
प्रदेश १ बाट भारतसँग जोडिएका झापा र मोरङबाट थप भन्सार कार्यालय थप्न माग गरिए पनि सुनसरीमा भने नयाँ भन्सार कार्यालय खोल्न कुनै प्रस्ताव गरिएको छैन । हाल सुनसरीमा साहेबगञ्ज, कौवाखोज, घुस्की, सिसुवा, लौकही, लही र भण्टाबारीजस्ता छोटी भन्सार कार्यालय रहेका छन् ।