विराटनगरः सङ्घीय सरकारका प्रमुख, प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा सचिवलाई निर्देशन दिएको भोलिपल्टै प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले पनि मन्त्री तथा सचिवलार्इ निर्देशन दिएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।

जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न नसकेको जस्ता भनाइ बाहिर आउन थालेकाले जनताको आशालाई निराश बनाउन नहुने उनले बताए । ‘जनतामा उत्साह र विश्वास हामीले जगाउन सक्नुपर्छ,’ राईले भने । जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न राईले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।

बजेट कार्यान्वयनका संयन्त्र १५ दिनमा तयार पार्न निर्देशन
मुख्यमन्त्री राईले प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न पनि निर्देशन दिएका छन् । ‘प्रदेश मातहत संरचनाहरू आएका छन् । हामी काम गर्ने बिन्दुमा प्रवेश गरेका छौं,’ राईले भने, ‘यो १५ दिनभित्र आवश्यक पर्ने सबै संयन्त्रहरू तयार गरेर अगाडि बढ्नुहोस् ।’ चालु आर्थिक वर्षका ४ महिना सकिइसकेकाले बाँकी समय खेर नफाल्न उनले अनुरोध गरे । कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
प्रदेश १ सरकारको नीति, कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उनले यसको कार्यान्वयमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनमा अनेक बाहानबाजी देखाएर कसैले पनि छुट नपाउने भन्दै मुख्यमन्त्री राईले भने, ‘कर्मचारी भएनन्, समय पुगेन भनेर कसैले भन्न मिल्दैन । काम गर्न केले समस्या भएको छ भन्नुप¥यो । सचिवले विभागीय मन्त्रीलाई भन्नुप¥यो मन्त्रीले मलाई भन्नुप¥यो । मन्त्रिपरिषदबाट भए पनि काम गर्ने वातावरण बन्छ ।

कसैले पनि हीनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् । प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए ।