धरान / धरान–१७ स्थित रेल्वे चोकको विस्तार गरी व्यवस्थित बनाउने योजनालाई धरान उपमहानगरपालिकाले गौरवको आयोजनामा समेटेर बजेट विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट, नीति तथा कार्यक्रममा रेल्वे चोक बिस्तार योजनालाई नगरको गौरवको आयोजनामा समेटेको हो । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा रेल्वे चोकलाई व्यवस्थित र नमुना बनाउन ९० लाख रुपैयाँ पनि विनियोजना गरेको छ । रेल्वे चोक हँुदै धरानबाट रेल गुडेको गौरवपूर्ण इतिहास छ । कोशी सम्झौता अनुसार भारतले भीमनगरस्थित कोशी ब्यारेज निर्माण गर्दा आवश्यक ढुंगा रेलमार्फत् धरानबाट लगेको थियो । फुस्रेबाट ढुंगा रोपवे मार्फत हालको सगरमाथा बस्तीमा संकलन गरी रेल वे हँुदै लगिन्थ्योे । त्यसै क्रममा रेल वे चोक बसेको हो ।
वडा नं १७ कार्यालयको निरन्तरको पहलमा चोक बिस्तार तथा नमुना बजार बनाउने योजनालाई गौरवको आयोजनामा समेटिएको हो । रेल्वे चोकलाई नमुना बजार बनाउन यसअघि नै सर्वेक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)समेत तयार भइसकेको वडा नम्बर १७ को कार्यालयले जनाएको छ ।
वडाध्यक्ष मनोज भट्टराईका अनुसार रेल्वे चोकलाई धरानकै नमुना र व्यवस्थित चोक बनाउने कामको थालनी यसै आर्थिक वर्षमा भइसकेको छ । ‘धरान सरकारको बजेटले गौरवको आयोजनामा समेटेर ९० लाख बजेट विनियोजन गरेको छ, तर काम यसै आर्थिक वर्षबाट शुरु गरिसकेका छौं । डिपिआर पनि भइसकेको छ,’ अध्यक्ष भट्टराईले भने, ‘रेल्वे चोकलाई धरानकै नमुना बजार बनाउँदैछौं, काम अहिलेदेखि नै थालनी भइसकेको छ ।’
वडा कार्यालयका अनुसार हजुरको प्रिय रिसोर्ट जाने मोडदेखि एन्फा मार्गसम्म ७२ फिट सडक क्षेत्र कायम गरिनेछ । त्यसमध्ये ४८ फुट पक्की सडक बन्नेछ भने सडकको दुवै किनारमा १२÷ १२ फुटको ड्रेन, सडक पेटी र गार्डेन बन्नेछ । चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट १० लाख प्राप्त भएको र सो बजेटले सप्तरंगी मार्ग कालोपत्रे योजनाको काम शुरुवात भएको पनि वडा कार्यालयले जनाएको छ ।
मुख्य चोकमा १ सय २ फुटको सडकक्षेत्र बन्छ । त्यहाँ १ सय २ फुट भन्दा धेरै जमिन भएकाले बाँकी जमिनमा पार्क बन्ने छ । सो पार्कमा रेल्वे चोकको इतिहास झल्किने गरी रेलको संरचना पनि निर्माण हुनेछ । ‘रेल्वे चोक ठूलो, व्यवस्थित र नमुना बजारको रूपमा विकास हुनेछ, चोकमा पार्किङ क्षेत्र पनि बन्छ । त्यहाँ रेलवेको इतिहास झल्काउने गरी रेलको संरचना पनि बनाउँछौंं,’ वडाध्यक्ष भट्टराईले भने ।
वडा कार्यालयले चोकदेखि दक्षिण वडा कार्यालयतर्फ जाने बाटो ओगटेर बनेका घर खाली गराउन शुरु गरेको छ । सब्जी पसल, मासु पसल, ठेला व्यवसायीलाई पनि उचित व्यवस्थापन गरिनेछ । यस्तै, चोकमा रहेको टेम्पो स्टेण्डलाई सप्तरंगी मार्गतर्फ १० फुट चौडाइ छुट्याएर एक लहरमा राख्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।