विराटनगरः बिचौलियाको प्रभाव सबै क्षेत्रमा परेको देखिन्छ । धेरैको आँखा नपरेको अनि नसोचेको धानको बिक्रीमा पनि बिचौलियाको प्रभाव परेको पाइन्छ । किसानको खेतमा उत्पादन भएको धान खरिद गर्ने सरकारी कार्यालयमा आइनपुग्दै बिचौलियाको नियन्त्रणमा पर्ने गरेको छ ।
ग्रामीण क्षेत्रमा उत्पादन हुने धान बिक्रीका लागि शहरमा रहेको सरकारी बिक्री केन्द्रसम्म ल्याउनुपर्ने बाध्यताले किसानमाथि बिचौलिया हाबी हुने गरेका हुन् । उत्पादन भएको धान बिक्रीका लागि झेल्नुपर्ने किसानका समस्यालाई धान खरिद गर्ने सरकारी कार्यालयले बुझ्दैन ।
सरकारले तोकेको धानको समर्थन मूल्यअनुसार खाद्य संस्थानसम्म ढुवानी बेहोरेर किसानले नै ल्याउनुपर्ने बाध्यता भएपछि बिचौलियाको मूल्य नै चल्ने गरेको हो । समर्थन मूल्य र बिक्री प्रक्रियाबारे अनभिज्ञ
कतिपय किसानलाई धानको समर्थन मूल्य र सरकारलाई बिक्री गर्ने तरिकाबारे ज्ञान छैन । तोकिएको समर्थन मूल्यमा किसानको धान खरिद गर्ने खाद्य संस्थानको जिम्मेवारी हो । तर, खाद्य संस्थानले किसानकै घरमा पुगेर धान खरिद गर्दैन । कसरी सरकारलाई धान बेच्ने भन्ने ज्ञान किसानलाई छैन ।
विराटनगर–१४ जतुवाका किसान सन्तलाल यादवले सरकारले धान खरिद गरिदिएला कि भनेर खोज्न जाने ठाउँ समेत थाहा नभएको बताए । धान किनिदिने सरकार गाउँमै आए मात्रै आफूहरूले मूल्य पाउन सक्ने उनको भनाइ छ ।
‘हाम्रो धान किन्ने बनियाँ नै सरकार जस्तो छ’ यादवले भने, ‘मूल्य उसैले तोक्छ, धान उसैले बोक्छ । यादवका अनुसार यस पटक गाउँमा १ हजार ८ सयदेखि १ हजार ९ सयसम्म रुपैयाँ प्रतिक्वीन्टल धानको मूल्य रहेको छ ।
१० हजार क्वीन्टल धानमात्रै संस्थानले किन्ने
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय विराटनगरले यस वर्ष १० हजार क्वीन्टल धान मात्रै खरिद गर्नेछ । गत वर्षसमेत सोही परिमाणमा धान खरिद गरिएकाले यस वर्षको कोटा पनि त्यति नै तोकिएको कार्यालय प्रमुख एन्जिला बस्नेत बताउँछिन् ।
‘देशभर लगभग ३ लाख मेट्रिकटन धान खरिद हुँदैछ, त्यसमा हाम्रो कार्यालयले १० हजार क्वीन्टल खरिद गर्छ’, बस्नेतले भनिन्, ‘संस्थानले खरिद गरेको धानबाट मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा कारागार तथा भोजपुर र सङ्खुवासभा जिल्लामा चामल निर्यात हुन्छ ।’
यस वर्षको लागि धानको समर्थन मूल्य कति छ ?
सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ तोकेको छ । प्रदेश १ को कृषि निर्देशनालयले १४ जिल्लामा १२ लाख ४१ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ ।
३ लाख ३५ हजार ५ सय २९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख २३ हजार १ सय ८९ हेक्टरमा खेती लगाइएको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीले जनाए । गतवर्ष भन्दा यो वर्ष प्रदेश १ मा धान खेती लगाएको जमिनको क्षेत्रफल बढी रहेको छ । यसले धानको उत्पादन १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको डाँगीले बताए ।
यस वर्ष धानको उत्पादकत्व ३ दशमलव ८४ प्रतिशत मेट्रिकटन प्रतिहेक्टर हुने दाबी गरिएको छ । गत वर्ष ३ दशमलव ४४ प्रतिहेक्टर उत्पादकत्व थियो ।