सङ्खुवासभाः वि.सं. १९९० सालको भूकम्पको केन्द्रबिन्दु सङ्खुवासभाको चैनपुरमा भूकम्प मापन केन्द्र स्थापना गर्ने काम शुरु भएको छ । मापन केन्द्र स्थापनाको लागि बिहीबारबाट काम शुरु भएको हो । चीन सरकारको लगानीमा भूकम्प मापन केन्द्र स्थापनाको काम शुरु भएको वडा नम्बर ८ का अध्यक्ष भरत खड्काले जानकारी दिए ।

खानी तथा भूगर्भ विभागसँगको सहकार्य र चीन सरकारको लगानीमा मापन केन्द्र स्थापनाको काम शुरु भएको हो । चीन सरकारको सहयोगमा देशभरका विभिन्न १० स्थानमा भूकम्प मापन केन्द्र स्थापनाको काम भइरहेको खानी तथा भूगर्भविद् नवीन घिसिङले जानकारी दिए ।

घिसिङका अनुसार मापन केन्द्र स्थापना भएपछि भूकम्प मापनको बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंबाट तत्कालै जानकारी लिन सकिने छ । प्रदेश नं. १ अन्तर्गत यसअघि ताप्लेजुङ र उदयपुरमा केन्द्र स्थापना भइसकेको छ भने हाल सोलुखुम्बुसहित पूर्वका ४ जिल्लामा केन्द्र स्थापनाको तयारी भएको हो ।

चिनियाँ सरकारको लगानीमा हालसम्म ४ वटा मापन केन्द्र पश्चिममा स्थापना भइसकेको र अन्य ६ स्थानमा स्थापनाको अन्तिम चरणमा रहेको घिसिङले बताए । १ करोडको लागतमा निर्माण थालिएको भूकम्प मापन केन्द्र दुई हप्तामा निर्माण सम्पन्न भइसक्ने घिसिङले जानकारी दिए । नेपालमा २१ वटा भूकम्पमापन केन्द्र स्थापना भइसकेका छन् । १० वटा मापन केन्द्र निर्माणको चरणमा रहेका छन् ।