विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच आज छलफल भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भानक्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो ।
छलफलका क्रममा सो टोलीले प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, समस्या र चुनौतीको बारेमा जिज्ञासा राखेको थियो ।
छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले अगाडि सारेका योजना, कामलगायतका बारेमा बताएका थिए । उनले प्रदेश सरकारले कानुन निर्माणलाई तीव्रता दिएको र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जनाए ।
संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दै अगाडि बढिरहेको मुख्यन्त्री राईले बताए । छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विशेषता, र सम्भावनाका बारेमा अवगत गराएका थिए ।
राजदूत क्यापलरले नेपालले हासिल गरेको उपलब्धी संसारका लागि उदाहरणीय भएको बताए । छलफलबाट प्रदेशको भूमिका बुझ्न राम्रो अवसर मिलेको उनको भनाइ थियो ।
विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए । ‘सङ्घीय सरकारको अनुमतिमा अहिले हामी सबै प्रदेश सरकारसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘प्रशासनिक र संरचनागत हिसाबले हामी सहयोग गर्छाैँ ।’
‘हामीले लामो समयदेखि एकात्मक संरचनामा रहेको व्यवस्थामा काम ग¥र्याैं’, डिएफआइडीका नेपाल प्रमुख मार्सदेनले भने, ‘नेपाल नयाँ संरचनामा गएसँगै प्रदेश र स्थानीय तहसँग कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं ।’ प्रदेश सरकारका प्राथमिकता तथा समस्या हेरेर काम गर्न सकिने उनको भनाइ थियो ।
सङ्घीयता कार्यान्वयनका लागि नेपाल सरकार र दातृ निकायले संयुक्त रूपमा शुरुवात गरेको क्षमता विश्लेषणमा छलफल केन्द्रित रहेको बताइएको छ । सो टोलीले यसअघि पाँच वटा प्रदेशमा यस्तै छलफल गरिसकेको जनाएको छ ।