धरान / उमेर हदको कारण अबको करिब तीन महिनाभित्र अनिवार्य अवकाश पाउन लागेकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी पूर्व रेक्टर प्रो.डा. रूपा सिंह राजभण्डारी र सर्जरी विभाग प्रमुख प्रो.डा. सिएस अग्रवाल आफ्नो जागिर लम्ब्याउने खेलमा लागेका छन् ।
आगामी अक्टोबरमा उमेरको कारण अनिवार्य अवकाश पाउन लागेका डा.अग्रवालको नेतृत्वमा फ्याकल्टी डाक्टरहरू प्रतिष्ठानको नियमावली संशोधन गर्ने चलखेलमा लागेका छन् । स्थापनाकालदेखि नै प्रतिष्ठानमा कार्यरत डा.अग्रवालसहित अधिकांश सिनियर प्राध्यापक चिकित्सकहरू अवकाश पाउने पाइपलाइनमा छन् । एकपछि अर्को प्राध्यापकले उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि प्रतिष्ठानको सेवा सुविधामा राज गरिरहेका उनीहरू आफ्नो जागिर अवधि लम्ब्याउने कसरतमा जुटेका हुन् ।
प्रतिष्ठानको नियमावलीअनुसार ६१ वर्ष पुगेपछि अनिवार्य अवकाश लिनुपर्छ । डा.अग्रवाल र डा. राजभण्डारीलाई प्रतिष्ठानले अनिवार्य अवकाश पाउने समय तोकेर जानकारी गराइसकेको छ । नियमावलीअनुसार अवकाश हुने समय ६ महिना बाँकी रहँदा सम्बन्धितलाई औपचारिक जानकारी गराउनुपर्ने हुन्छ ।
अवकाश पाएपछि प्रतिष्ठानले उपलब्ध गराउँदै आएको क्वार्टर त्याग्नुपर्छ भने खाइपाई आएको तलब, भत्ता पनि हात पर्दैन । प्रतिष्ठानका सिनियर चिकित्सकहरूले पेइङ सेवाबाट मात्र लाखौं कमाउने गर्छन् । प्रतिष्ठान स्थापना भएयता उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका डा.अग्रवाल र सिंह पहिलो मेडिकल फ्याकल्टी प्रोफेसर हुन् । यसअघि एक जना मात्र फ्याकल्टीले अवकाश पाए पनि उनी नन् मेडिकल थिए । आफ्नो खाइपाई आएको जागिर गुम्न लागेपछि डा. अग्रवाल र सिंहले प्रतिष्ठान पदाधिकारीलाई उमेर हद लम्ब्याउने व्यवस्था गरिदिन भन्दै निवेदन दिएका छन् । दुवैले ६१ वर्षको उमेर हद संशोधन गरेर ६५ वर्ष पु¥याउनुपर्ने भन्दै लबिङ गरिरहेको प्रतिष्ठान स्रोतले भन्यो ।
डा. अग्रवालले नियमावली संशोधनको प्रस्ताव आगामी सिनेट बैठकमा पेश गर्नुपर्ने माग राखेर प्रतिष्ठानको फ्याकल्टी चिकित्सक(प्राध्यापक)हरूको हस्ताक्षर संकलन अभियानै चलाएका छन् ।
डा. अग्रवालपछि केही वर्षभित्रै डा.प्रल्हाद कार्की, डा.बि एन यादव, पूर्वउपकुलपति डा.बीपी दासलगायतले पनि अनिवार्य अवकाश पाउँदैछन् । प्रतिष्ठानमा सिनियर चिकित्सकको रूपमा परिचित भए पनि उनीहरू कुनै न कुनै रूपमा विवादमा तानिएका चिकित्सक पनि हुन् । प्रतिष्ठानको उपकलुपति बन्न नसकेपछि पदाधिकारीलाई असहयोग गर्नेमा उनीहरूबीच गुटबन्दी हुने गरेको छ । शैक्षिक गतिविधि र उपचारमा भन्दा बढी उनीहरू प्रतिष्ठान व्यवस्थापनलाई असफल बनाउने गुटबन्दीमा तल्लीन हुने गरेको आरोप लाग्दै आएको छ ।
नियमावली संशोधनको प्रस्ताव सिनेट बैठकमा समावेश गराउन हस्तक्षर संकलन गरिरहेको स्वीकार गर्दै डा.अग्रवालले चाँडै स्वास्थ्यमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाउने बताए । ‘उमेरको सेवा अवधि ६५ वर्ष पु¥याउनुपर्छ भन्ने हाम्रो माग हो, सिनेटले नियमावली संशोधन गरोस् भन्ने चाहन्छौं, चाँडै स्वास्थ्यमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाउँछांै,’ उनले भने ।
एकाध वर्षमा अवकाश पाउन लागेका प्राध्यापकहरूले डा. अग्रवाललाई साथ दिए पनि प्रतिष्ठानका जुनियर (एसिस्टेन्ट, एशोसिएट, एडिस्नल) लगायत चिकित्सकहरू भने सेवा अवधि लम्ब्याउने प्रयासप्रति असन्तुष्ट छन् । सधैँ एकै व्यक्ति पद र शक्तिमा रहिरहँदा जुनियरहरूको वृत्ति विकास र बढुवा हुने अवसर नआउने भन्दै उनीहरू सन्तुष्ट छैनन् । अवकाश पाएपछि प्रोफेसरहरू बस्दै आएको क्वार्टर खाली हुने र अन्यले बस्ने मौका पाउने जुनियर चिकित्सकहरू बताउँछन् । ‘अहिले कति डाक्टरले क्वार्टर पाएका छैनन्, गेष्ट हाउसमा बस्नुपर्ने अवस्था छ । अवकाश पाएर पनि फेरि जागिर लब्याउँदै बस्ने हो भने त अरुले कहिले मौका पाउने ?’ ती चिकित्सक भन्छन् ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनालले उमेर हद बढाउन पहल गरिदिन भन्दै निवेदन आए पनि सरोकारवालाहरूसँग विस्तृत छलफल नगरी निर्णय गर्न नसकिने बताए । यो विषयमा सम्पूर्ण फ्याकल्टी, कर्मचारीलगायतसँग पनि विस्तृत छलफलको आवश्यकता भएको उनको भनाइ छ । ‘एकेडेमिक कमिटी, सरोकारवाला फ्याकल्टी, कर्मचारीसँग पनि विस्तृत छलफल आवश्यक छ, तब मात्र ठोस निर्णय लिन सकिन्छ,’ उनले भने । अस्पताल निर्देशक डा. गौरीशंकर साहले पनि आवश्यक गृहकार्य र छलफल नगरी उमेर हद बढाउने विषयमा निर्णय नलिइने बताए । प्रतिष्ठानमा प्रोफेसर, एसिस्टेन्ट, एशोसिएट र एडिस्नल प्रोफेसर गरी कुल २ सय ९१ प्राध्यापक छन् । तीमध्ये ६९ जना प्रोफेसर हुन् ।