इटहरीः नेपालमै पहिलोपटक धनकुटामा आज एभोकार्डो महोत्सव हुँदैछ । अत्यन्तै पौष्टिक र अन्त्यन्तै स्वास्थ्यवद्र्धक फल एभोकार्डोको प्रबद्र्धन गर्न महोत्सव गर्न लागिएको बताइएको छ ।
धनकुटामा अत्यधिक मात्रामा एभोकार्डाेको व्यावसायिक खेती बढिरहेकाले एभोकार्डोको महोत्सव गर्न धनकुटा नगरपालिका आफैँ लागिपरेको छ । आज ११ बजेबाट धनकुटा बजारको परिचय मोडमा औपचारिक रूपमा एभोकार्डो महोत्सव हुने भएको हो ।
एशियाकै पहिले एभोकार्डो महोत्सव भनेर दाबी गरिएको महोत्सवकै अवधिमा एभोकार्डो फलको मूर्ति पनि अनावरण गरिने भएको छ । महोत्सवकै दौरान ३० लाख लागतमा एभोकार्डोको मूर्तिसँगै पार्कको पनि शिलान्यास गरिने भएको छ ।
महोत्सवमा विभिन्न २० वटा स्टल हुने र स्टलबाट उत्कृष्ट ४ जना किसान छानिने नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारीले बताए । अधिकारीका अनुसार महोत्सवमा सहभागी भई पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याउने प्रतियोगीलाई १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
यस्तो छ धनकुटाको एभोकार्डो महोत्सवको कथा
धनकुटा सुन्तलाको राजधानी भनेर नेपालभर परिचित क्षेत्र हो । तर, पछिल्लो समयमा धनकुटामा सुन्तलाका बोट मर्न थाले । सुन्तलाको व्यावसायिक आयतन घट्न थाल्यो । यसले किसानसँगै चिन्तित भए धनकुटाका मेयर चिन्तन तामाङ ।
धनकुटाको पहिचान र मुख्य व्यवसाय बनेको सुन्तलाकै व्यवसायमा समस्या भएपछि मेयर तामाङले नयाँ कुनै व्यवसायिक खेतीको बारेमा सोच्न थाले ।
सुन्तलाको विकल्पमा कुन ठीक होला भन्ने कुरा बुझ्न मेयर तामाङले कृषि विज्ञ जीवन राईलाई नियुक्त गरे । राईले लामो अध्ययन गरे र, निष्कर्ष निकाले, धनकुटामा एभोकार्डो र ड्रागन फल उचित छ । मेयर तामाङले प्रथम चरणमा एभोकार्डोकै व्यवसाय प्रवद्र्धन गर्न थाले । धनकुटाको पाख्रीबासमा भएको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा रहेका एभोकार्डोका बिरुवा सङ्कलन गरेर किसानहरूलाई बाँड्न थाले ।
बेलायती सहयोगमा २०२८ सालदेखि सञ्चालनमा आएको धनकुटाको कृषि अनुसन्धान केन्द्रमा बेलायतीले नै ल्याएर रोपेका थिए । केही स्थानीयले सोखको रूपमा प्रयोग गर्न रोपेका थिए । यही कुरालाई मेयर तामाङले आफ्ना विज्ञ जीवन राईको सल्लाहअनुसार व्यावसायिकता दिनतर्फ लागे ।
‘हामीले अहिले १० हजार बिरुवा किसानलाई बाँडेका छौँ’, मेयर तामाङ भन्छन्, ‘आगामी वर्ष यो सङ्ख्यालाई १ लाख पु¥याउने मेरो लक्ष्य छ ।’राम्रो बजार र प्रतिकिलो हालसम्म न्यूनतम ५० रुपैयाँदेखि अधिकतम १ सय ५० रुपैयाँसम्म पुगेको एभोकार्डोको भविष्य सुरक्षित भएको पनि मेयर तामाङ बताउँछन् । उनी भन्छन्, ‘औषधीबाहेक मेकअप, जुस, रक्सीदेखि अन्य रूपमा पनि खान सकिने भएकाले यसको भविष्य राम्रो छ ।’
हाल धनकुटामा २५ हजार एभोकार्डो फलका बिरुवा रहेको मेयर चिन्तन तामाङ बताउँछन् । इटहरीमा भएको प्रदेश १ को नगरपालिका महासङ्घको भेलामा सहभागी हुन आएका तामाङले आगामी वर्ष १ लाख बिरुवा पु¥याउने बताए । धनकुटामा नेपालमै सबैभन्दा धेरै एभोकार्डोका बिरुवा र व्यवसाय भएकाले धनकुटालाई औपचारिक रूपमा एभोकार्डोको राजधानी नै बनाएको मेयर तामाङले बताए । उनले भने, ‘धनकुटाको कृषि क्रान्ति र कृषि पर्यटनको विकास अब एभोकार्डोले गर्छ ।’