इटहरीः सुनसरीको वराहक्षेत्र – ७ निवासी ९९ वर्षीय ज्येष्ठ नागरिकलाई २ वटा संस्थाले घरमै पुगेर अभिनन्दन तथा सम्मान गरेका छन् ।

९९ वर्षीय वृद्ध मेघनाथ कोइरालालाई महेन्द्रनगर इटहरी सेवा समाजले घरमै पुगेर अभिनन्दन गरेको हो । सो संस्थाको तर्फबाट महेन्द्र माविका पूर्व शिक्षक लक्ष्मीनारायण डाँगीले अभिनन्दनपत्र दिनुका साथै दोसल्ला ओढाएका थिए ।

कोइराला ९९ वर्षको उमेरमा पनि सामाजिक सेवामा सक्रिय रहेकाले उनलाई अभिनन्दन गरिएको समाजका अध्यक्ष कृष्ण नेपालले जानकारी दिए ।

त्यसैगरी ९९ वर्षीय कोइरालालाई इटहरीमा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाले पनि सम्मान गरेको छ । सेयर सदस्यका परिवारका ज्येष्ठ नागरिक भएकाले कोइरालालाई सम्मान गरिएको सो संस्थाले जनाएको छ । सो सहकारीले आफ्नो १७ औं वार्षिक साधारणसभाको अवसरमा उनलाई घरमै पुगेर सम्मान गरेको संस्थाका अध्यक्ष चन्द्रजंग कार्कीले जनाएका छन् ।