धरानः ‘लैङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौं कोही नछुटौं’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धरानमा मंसिर ९ गतेदेखि शुरु हुने भएको छ ।
महिला सञ्जाल धरान नगर समितिको आयोजना तथा इलाका प्रहरी कार्यालय धरानको समन्वय र धरान उपमहानरपालिकाको आर्थिक सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको हो । मंसिर ९ देखि २५ गतेसम्म महिला हिंसा, यौन हिंसा, लागूऔषध विरुद्ध विभन्न सचेतना कार्यक्रम राखिने शुक्रबारको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष सबिता राईले बताइन् ।
उनका अनुसार महिला सञ्जाल सामाजिक शाखाले १० देखि २३ गतेसम्म धरानको २० वटै वडाका १ सय ५२ वटा टोल विकास संस्थामा ‘महिला हिंसा न्यूनीकरणका लागि गरिएका प्रयास’ विषयक अन्तरक्रिया कार्यक्रम राख्ने तय भएको छ । जसमा जनप्रतिनिधिको पनि सहभागिता रहने सञ्जालकी सचिव कोपिला भट्टराईले बताइन् । त्यसैगरी, इलाका प्रहरी कार्यालय धरान र सञ्जालले संयुक्त रूपमा ११ गतेदेखि १७ गतेसम्म लागूऔषध तथा यौन दुव्र्यवहारविरुद्ध प्रतिकार अनुशिक्षण गर्ने भएका छन् ।
त्यसैगरी, समर्पण अभियान नेपालले १५ गते चिया बिक्रीबाट उठेको रकमबाट ज्येष्ठ नागरीकलाई न्यानो कपडा वितरण गर्ने सञ्जालकी सचिव कोपिला भट्टराईले बताइन् । नगर कार्यवाहक प्रमुख मञ्जु भण्डारीसहित इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, महिला सञ्जाल र अधिवक्तासहितको सहभागितामा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्ने कार्यक्रम समेत रहेको उनले बताइन् ।
धरानलाई लैङ्गिक हिंसामुक्त नगर घोषणा गर्ने तयारीमा धरान उपमहानगरको सामाजिक शाखाले महिला हिंसाविरुद्ध मेरो ऐक्यबद्धता÷ प्रतिबद्धता पत्र हस्ताक्षर कार्यक्रम राख्दै १६ दिने अभियान समापन हुने आयोजकले जनाएको छ ।