विराटनगरः विराटनगरबाट आजदेखि माउण्टेन शुरु भएको छ । पहिलो फ्लाइट (उडान) मा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित २२ जनाले हिमाली दृश्यको अवलोकन गरे ।

मुख्यमन्त्री राईसहित १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र वन पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियतसहितको टोलीले हिमाली दृश्यको अवलोकन गरे ।

यस अघि २ वर्ष पहिले भएको एउटा औद्योगिक मेलाको अवसर पारी मेला आयोजकले हेलिकोप्टरमार्फत् माउण्टेन फ्लाइट गराएको थियो । अब प्रत्येक शनिबार माउण्टेन फ्लाइट गर्ने बताइएको छ । विराट होलिडेज् कम्पनीमार्फत् भएको माउण्टेन फ्लाइट कन्चनजंघा, मकालु, सगरमाथा हुँदै गौरीशंङ्र हिमालसम्म पुगेर सोही रुटबाट फर्किएको बताइएको छ । ५५ मिनेटको सो यात्रामा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेशका प्रमुख सचिव, पर्यटन सचिव, पर्यटन व्यवसायी र पत्रकार सहभागी थिए ।

निरन्तरताको खाँचो
माउण्टेन फ्लाइटबाट फर्किए लगत्तै प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । निरन्तरता दिनको लागि सङ्घीय सरकार, विभिन्न निकाय तथा स्थानीय तहसँग प्रदेश सरकारले सहकार्यको लागि पहल गर्ने पनि उनले बताए । विराटनगर –पोखराको सीधा उडान चाँडै शुरु गराउन पहल गर्ने पनि राईले जनाए ।

सो कार्यक्रममा प्रदेशमा सञ्चालनमा रहेका सबै विमानस्थलमा विराटनगरबाटै सीधा उडान गर्न व्यवसायीले माग गरेका थिए । विराट होलिडेजका अध्यक्ष भविष श्रेष्ठले भोजपुर, सुकेटार, तुम्लिङटार, लुक्ला लगायतका क्षेत्रमा विराटनगरबाट उडान हुनुपर्ने पर्यटन व्यवसायीको माग रहेको उल्लेख गरे ।

m mm mmm