इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले १ सय वर्ष पुगेका एक ज्येष्ठ नागरिकलाई उनकै घरमा पुगेर जन्मदिनको शुभकामना दिएका छन् ।

शनिबार दिउँसो इटहरी–१६ निवासी भानुभक्त लम्साललाई मेयर चौधरीले लम्सालकै घरमा पुगेर जन्मदिनको शुभकामना दिएका थिए ।

पछिल्लो हप्ता मेयर चौधरीले इटहरीमा घरदैलो अभियानलाई बाक्लो पारेका छन् । स्थानीयसँग विकासे कुराकानी गर्न घरदैलो पुग्ने मेयरले एक हप्ता अगाडि एक अपाङ्ग व्यक्तिको जागीरको माग पूरा गरेका थिए । इटहरी–२ को देउराली चोकका मानबहादुर भुजेललाई मेयर चौधरीले उनको योग्यता अनुसारको जागिर दिने प्रतिबद्धता दिएका थिए ।

अपाङ्गता भएका भुजेललाई अपाङ्गता कोटामा उनको योग्यता अनुसारको रोजगारी दिने मेयर चौधरीले बताएका थिए । भुजेल हाल स्नातक तह तेस्रो वर्षमा जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छन् ।