दुहबीः ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दुहबीमा पनि शुरु भएको छ ।
आज बिहान दुहबी नगरपालिकामा भेला भई सहभागीले सेतो रिबन लगाएर दुहबी बजारमा प्रभातफेरी निकाल्नुका साथै कोणसभा आयोजना गरेका थिए । दुहवी नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, प्रहरी, कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
कोणसभामा बोल्दै दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले लैङ्गिक हिंसा मानवता विरुद्धको अपराध भएकाले यसको अन्त्यका लागि विभिन्न अभियानहरू सञ्चालन गर्नुपर्ने बताए । लैङ्गिक हिंसाको अन्त्यका लागि सरकारले नयाँ कार्यक्रमहरू ल्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह) ले दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिइन् । ओरेक नेपालकी शान्ति दनुवारले विगतका तुलनामा महिलाहरूमा चेतनास्तर बढेकाले हिंसाका घटनाको उजुरी बढेको बताइन् ।
कार्यक्रमका सहभागीहरू मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा होइन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायतका नारा लेखिएका प्लेकार्डसहित सहभागी भएका थिए ।