धरान/ विदेशमा दुःख गरी श्रीमान्ले कमाएर पठाएको पैसा (रेमिट्यान्स)लाई सदुपयोग गर्न नसकेको आरोप खेपिरहेका धरानका महिलाहरूलाई संगठित गरेर रेमिट्यान्सको सदुपयोग गरिने भएको छ ।

रेमिट्यान्सको उपयोग गर्ने पहल स्वरूप धरान उपमहानगरपालिकाको सहयोगमा रूपान्तरण नेपाल नामक संस्थाले भर्खर मात्र रेमिट्यान्सको उपयोगिताबारे २ दिने वित्तीय शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ भने आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममार्फत् पनि धरानले वैदेशिक रोजगारीमा गएका परिवारको महिला लक्षित गरी उद्यमशीलता विकासको कार्यक्रममा साझेदारी गर्ने र विप्रेषण आयलाई पूँजीकृत गर्ने कार्यमा उपयोग गर्ने नीति ल्याएको छ । उपमहानगरको यो नीतिले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण तयार गर्न पहल गरिरहेकाले सामाजिक अभियन्ताहरू खुशी भएका छन् ।

‘विदेशबाट आएको रेमिट्यान्स सही रूपमा सदुपयोग हुन सकेको छैन, त्यसलाई उत्पादनमूलक काममा लगानी गर्न पहल गरिरहेका छौं । यसको लागि महिलाहरूलाई संगठित गर्ने अभियानमा छौं,’ रूपान्तरण नेपालकी अध्यक्ष सविता राईले भनिन् ।

उनका अनुसार उपमहानगरपालिकासँग समन्वय गरेर श्रीमान् वा छोरा वैदेशिक रोजगारमा गएका घरका महिलालाई संगठित गरिनेछ । उनीहरूलाई पैसा बचत गर्न वित्तीय शिक्षा दिएर वडास्तरमा संगठित गर्ने र उत्पादनमूलक काममा लगानी गरी आयवृद्धि गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ । ‘वित्तीय शिक्षासँगै लगानीको सम्भावना भएका क्षेत्रहरूको पहिचान गर्छौं, विभिन्न सीप सिकाएर क्षमता अभिवृद्धि गराएर रेमिट्यान्सलाई आयमूलक, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गछौं,’ उनले भनिन् ।

रूपान्तरणका सचिव सुदेश चापागाईले भने, ‘नेपाल भित्रिएको रेमिट्यान्सको सदुपयोग गर्ने हो भने र उत्पादनमूलक क्षेत्रमा लगाउने हो भने धेरै आर्थिक उन्नति गर्न सक्छौं । त्यसैको प्रयास गरेका हौं ।’

युवा दृष्टि समाज नामक संस्थाले केही वर्षअघि धरानको वडा ११, १७ र ८ मा सर्वेक्षण गर्दा रेमिट्यान्समार्फत् आएको पैसाको ९० प्रतिशतभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाएको थियो । समाजको अध्ययनअनुसार रेमिट्यान्सको उपयोग ८० प्रतिशत खाना तथा छोराछोरीको शिक्षामा खर्चिएको देखिएको थियो भने ९ प्रतिशत जग्गाजमिन खरिदमा र १ प्रतिशत विदेश जाँदाको ऋण तिर्न खर्चिएको अध्ययनले देखाएको थियो ।

यसैगरी, ३ प्रतिशतले फर्निसिङ, २ प्रतिशत गरगहना खरिद र १ प्रतिशतले उपचारमा खर्च गरेको सो सर्वेक्षणबाट खुलेको थियो । रेमिट्यान्सको ४ प्रतिशत मात्र साना व्यापारमा लगानी गरेको पनि सोही अध्ययनबाट देखिएको थियो । तथ्य खुलेको थियो । युवा दृष्टि समाजकी कार्यकारी निर्देशक शुभेच्छा अधिकारीले भनिन्, ‘जुन अवस्थामा गएका हुन्छन्, फर्कँदा त्यही अवस्था हुन्छ ।’