इटहरीः इटहरी उपमहानगरपालिका १ स्थित आदर्श टोल विकास संस्थाले देउसी खेलेको पैसा विकास निर्माणमा लगाएको छ । आज उक्त टोल विकास संस्थाले टोलका ज्येष्ठ ८२ वर्षीय भुवानीशङ्कर धमलाद्वारा टोलको प्रवेश स्थलमा बन्न लागेको गेटको शिलन्यास गराएको छ ।
यो गेट बन्न करिब १ लाख ५० हजार खर्च लाग्ने टोल विकास संस्थाका अध्यक्ष वेदविक्रम घिमिरेले प्रदेश पोर्टललाई जानकारी दिए । उनका अनुसार तिहारको अवसरमा टोलमा देउसी खेल्दा करिब ५० हजार रुपैयाँ सङ्कलन भएको छ । बाँकी रकम स्थानीयको सहयोगमा जुट्ने बताइएको छ । सो गेट बनाउन सबै टोलवासीको मात्र खर्च लिइने उनले जानकारी दिए ।
टोल विकास संस्थाका सदस्य दिनेश धमलाले देउसी खेलेको रकम मनोरञ्जन गरेर सक्नु भन्दा टोलको सौन्दर्यका लागि संरचना बनाउन खर्च गरौँ भन्ने सबैको राय भएको बताए ।
‘हामी जस्ता युवाले रचनात्मक सोच्ने हो’, उनले भने, ‘फजुल खर्च गर्नुभन्दा उपलब्धिमूलक कार्यमा रकम सदुपयोग गरौँ भन्ने योजना बन्यो ।’
--------------------------------------------------------------------------------------------------------------------------------------