विराटनगरः मंसिर १९ गतेदेखि एकीकृत जाँचचौकी (आइसिपी)को परीक्षण सञ्चालन शुरु हुने भएको छ ।

भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्करलाई आइसिपीको बाटो प्रयोग गर्न दिने परिपत्र गरेसँगै अब आइसिपी सञ्चालनमा आउने भएको हो । परीक्षणका क्रममा साँझ ७ देखि बिहान ७ बजेसम्म खाली भएका ट्रक र इन्धनका ट्याङ्कर आइसिपीको बाटोबाट भारत प्रवेश गर्नेछन् ।

नेपालबाट दैनिक फर्कने खाली ट्रक २ सय र ट्याङ्कर ८० वटा हुने गर्दछन् । ट्रान्स नेपालका प्रबन्धक गणेश घिमिरेका अनुसार खाली गरिएका ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कने छन् । जसका कारण जामको समस्या केही हल हुनेछ ।

नेपालमा खाली भई फर्कने कन्टेनर बोेकेका लरी र ग्यासका बुलेट पनि आइसिपीको बाटो हुँदै फर्कने वातावरण भने अझै पनि छैन । विदेश मन्त्रालयले ट्रक र ट्याङ्करलाई मात्रै आइसिपीको बाटो प्रयोगका लागि अनुमति दिएको हो । ठूला ग्यासका बुलेट १० देखि १५ वटा र कन्टेनर बोकेका लरी १ सय ५० वटाको सङ्ख्यामा दैनिक बाहिरिन्छन् ।

आइसिपीको बाटोमार्फत् ट्रक र ट्याङ्कर भारत फर्कने भएसँगै दर्ता चलानीका लागि नेपालमा समेत आइसिपी नजिकै कार्यालय स्थापना भइरहेको छ । विराटनगर भन्सारका सूचना अधिकृत मणिराम पौडेलका अनुसार फर्कने मालवाहक ट्रक र ट्याङ्करको दर्ताका लागि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म भन्सारले कर्मचारी खटाउने गरी कार्यालय स्थापना भइरहेको छ ।

नेपाल भारत समन्वय समितिको जिल्ला स्तरीय बैठकले भारतबाट आइसिपीको बाटो हुँदै बल्की कार्गो, ग्यासका बुलेट र पेट्रोलियम पदार्थका ट्याङ्कलरी नेपाल ल्याउने सहमति गरेको थियो । कात्तिक महिनाको अन्तिम साता बसेको बैठकले सबै प्रकारका खाली मालवाहक सवारी छाड्न सहमति गरे पनि बैठकको निर्णयलाई भारतको विदेश मन्त्रालयले स्वीकृति दिएको छैन । विदेश मन्त्रालयले खाली ट्रक र ट्याङ्कर मात्र फर्कन पाउने गरी स्वीकृति दिएर पठाएको हो ।

नेपालले जमिन ढिलो गरेर उपलब्ध गराएका कारण नेपालतर्फको आइसिपीको संरचना अझै निर्माणाधीन छ । संरचना पूरा हुन अझै दुई वर्ष लाग्ने अनुमान गरिएको छ । भारततर्फको आइसिपीको संरचना तयार छ ।

आइसिपीसम्म आइपुग्ने रेलमार्गको उद्घाटन मंसिर २६ गते गरिने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाटै रेलमार्गको उद्घाटन गर्ने बताइएको छ ।