विराटनगरः भारतको बेरौनीबाट डिजेल भरेर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर आएको ट्याङ्करबाट इन्धन हराएको विषयमा छानबिनका लागि गठित समितिले काम थालेको छ ।

अत्याधुनिक लकिङ प्रणाली यथावतै रहेको अवस्थामा को १ ख ५९६५ नम्बरको ट्याङ्करबाट डिजेल चोरी भएको घटनाको छानबिन गर्न गठित समितिले घटनासँग जोडिएका सम्बन्धित पक्षसँग बयान लिन थालेको हो ।

नेपाल आयल निगम केन्द्र्रीय कार्यालयले उप–निर्देशक अञ्जना पोखरेलको संयोजकत्वमा इञ्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार केसी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले कम इन्धन ल्याएको ट्याङ्करको डिजेल परिमाण आइतबार जाँच गरेको छ । जाँचका क्रममा ट्याङ्करमा २ हजार ४ सय ८४ लिटर कम डिजेल फेला परेकोे छ ।

५ वटा चेम्बर भएको उक्त ट्याङ्कर मंसिर ६ गते डिजेल लिएर नियमित प्रक्रिया अनुसार कार्यालय प्रवेश गरेको बताइन्छ । ट्याङ्करका ५ चेम्बरमा २० हजार लिटर इन्धन हुनुपर्ने थियो । लकिङ सिस्टम यथावतै रहेको अवस्थामा डिप परीक्षण गर्ने क्रममा शाखाका कर्मचारी पुण्य पौडेलले कम परिमाण पाएपछि कार्यालय प्रमुख दिनेशकुमार यादवलाई जानकारी गराएका थिए ।
आयल निगमको विराटनगर कार्यालयमा ट्याङ्करको तालाको जिम्मेवारी उपप्रबन्धक रामकृष्ण श्रेष्ठ र सहायक प्रबन्धक वीरेन्द्र मिश्रसँग रहेको छ । ट्याङ्कर अनलोड प्रक्रियामा डिप परीक्षणको जिम्मेवारी भने पौडेल र वीरेन्द्र मिश्रले गर्दै आएका थिए ।
छानबिन समितिले डिप परीक्षणमा खटिने कर्मचारी, तालाचाबीको जिम्मा लिने कर्मचारी, ढुवानीकर्ता, चालक, उत्पादन ढुवानी माग शाखासहितका कर्मचारीसँग सोधपुछ थालेको हो ।
भारतीय आयल कर्पोरेशनको बरौनी डिपोमा एउटा चाबी र नेपाल आयल निगमको विराटनगर कार्यालयमा अर्को चाबी रहने उक्त ट्याङ्करका चालक सर्वेन्द्र स्वर्णकार रहेका छन् । कम डिजेल भएको ट्याङ्कर भित्रिएको हल्लासँगै कार्यालयले ढुवानीकर्ता सिंहलाई २४ घण्टे स्पष्टीकरण माग गरेको थियो । त्यस क्रममा ढुवानीकर्ता सिंहले आफूले गम्भीर कमजोरी गरेको स्वीकार गर्दै आगामी दिनमा गल्ती नदोहो¥याउने जवाफ मंसिर ७ गते दिइएको देखिन्छ ।
नेपाल आयल निगम विराटनगर कार्यालयका प्रमुख यादवका अनुसार जवाफमा कमजोरी स्वीकार गरेको देखिएपछि निगमको ढुवानी विनियमअनुसार ४ वटा बुँदा उल्लेख गर्दै ढुवानीकर्ता सिंह र चालकलाई कारवाही समेत गरिएको छ । तर, डिजेल कसरी निकालियो भन्ने विषयमा गहिरो अनुसन्धान जरुरी रहेकाले केन्द्रीय कार्यालयबाटै छानबिन भइरहेको उनले बताए ।
निगमको ढुवानी विनियमअनुसार १२ वटा ट्याङ्करबाट इन्धन ल्याउँदै गरेका ढुवानीकर्ता सिंहलाई ढुवानीमा रोक लगाई निलम्बन गरिएको छ । यसैगरी चालक स्वर्णकारलाई ६ महिनासम्म आयल निगमको ट्याङ्कर चलाउन बन्देजसँगै कार्यालय प्रवेश निषेध गरिएको छ ।
यसैगरी कम परिमाण देखिएको इन्धनको मूल्यको दोब्बर मूल्य ढुवानीकर्तामार्फत् निगमको खातामा जम्मा गराउने र उत्पादन ढुवानी माग (पिओडी) मा रोक लगाउने निर्णयसहितको कारवाही गरिएको यादवको भनाइ छ ।
नियमित प्रक्रियाबाट इन्धन लिएर आयल निगममा खन्याउन आएको ट्याङ्करमा तेल न्यून भेटिनुमा चाबी नै चालकलाई दिइएको हुन सक्ने आशङ्का समेत गरिएको छ । त्यसमा कार्यालयका उच्च स्तरका कर्मचारी समेतको संलग्नता हुन सक्ने आशङ्का गर्दै छानबिनको काम अगाडि बढाइएको हो ।

.............................................................................................................................................................

1180x715