इटहरीः स्थानीयको विरोधका बाबजुद इटहरी–६ का कृष्ण कार्कीले क्यान्सर उत्पादन गर्ने तत्व रेडिएसन फाल्ने टावर आफ्नो घरमा राख्न दिएका छन् । इटहरी चोक नजिकैको नेसनल गल्लीको ४ तले अग्लो घरका मालिक कार्कीले स्थानीयहरूको व्यापक विरोधका बाबजुद पनि एनसेल टावर ठड्याएका हुन् ।
बाक्लो बस्ती बीचमा रहेको रेडिएसन फाल्ने टावर बन्दै गर्दा नै स्थानीयले विरोध गरेका थिए । उनीहरूले वडा नम्बर ६ को कार्यालयमा पनि सो स्थानमा टावर नबनाउन माग गर्दै पत्र पठाएका थिए । स्थानीयको असहमतिलाई सम्बोधन गर्दै टावर बनाउन रोक्नुपर्ने भन्दै वडा कार्यालयले पनि पत्र पठाएको थियो । गत असार २८ गते वडा कार्यालयले पत्र पठाएको थियो । वडाध्यक्ष दीपक गौतमले पत्र पठाएर आग्रह गरे पनि घरधनी कार्कीले बेवास्ता गरेका छन् ।
घरधनी कृष्ण कार्कीले स्थानीयहरूको विरोधका बाबजुद टावर बनाएका छन् । आज बिहान भने स्थानीयले टावर बनाउन अवरोध गरेका छन् । बाक्लो बस्तीका बीचमा टावर बनाउँदा रेडिएसनले क्यान्सर सम्म हुने र भूकम्पको बेलामा ढल्दा जनधनको क्षति हुने भन्दै स्थानीयले विरोध गरेका छन् ।
निर्माणाधीन टावरको बारेमा छिमेकी केशव कार्की, युवराज श्रेष्ठ, सुवास कार्की लगायतका अन्य स्थानीय विरोधमा उत्रिएका छन् । आसपासका घरमा पसल सञ्चालन गर्ने पनि टावरको विपक्षमा छन् । यति हुँदाहुँदै घरवाला कार्कीले टावर राख्न अनुमति दिएका छन् । स्थानीय र घर आसपासका छिमेकीको सहमति लिएर गर्नुपर्ने मुचुल्का पनि नक्कली बनाएर कार्कीले टावर बनाएको स्थानीय व्यापारी रविन रानाले बताए ।
उनले भने, ‘यो टावर बनाउने कुरा घरवालाको मात्रै कुरा होइन । स्थानीयको पनि सरोकारको कुरा हो । हामी रेडिएसन फाल्ने र क्यान्सर जन्माउने टावर बनाउन मान्दैनौँ ।’