इटहरीः इटहरी–६ बीपी चोकमा रहेको नयाँ बजार टोल विकास संस्थाको अगुवाइमा एलइडी तथा सिएफएल बत्ती जडान सम्पन्न भएको टोल विकास संस्थाले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको साझेदारीमा बत्ती जडानका लागि नगरले पहिले मौखिक आश्वासन दिए पनि पछि त्यसलाई बेवास्ता गरेको आरोप टोल विकास संस्थाले लगाएको छ । टोलवासीले ४९ हजार ८ सय ५८ रुपैयाँ सङ्कलन गरेको र त्यसमा नगरपालिकाले २५ हजार रुपैयाँ थप गर्ने मौखिक आश्वासन पाएको संस्थाका अध्यक्ष रामबाबु प्रसाईंले बताए ।

प्रसाईंका अनुसार नपुग रकम लिन उपमहानगरपालिकाको कार्यालयमा पटकपटक जाँदा नगर प्रमुखसँग भेट नभए पनि कार्यरत कर्मचारीले रकम पाउने आश्वासन दिएका थिए । पछि मेयर द्वारिकलाल चौधरीलाई भेट्दा निजी काममा खर्च गर्न रकम मागेको जस्तो आशयको बिनातर्कको जवाफ दिएको प्रसाईंले बताए । वडा नम्बर ६ का अध्यक्षसँग कुरा राख्दा भने टोल विकास संस्थाले राम्रो काम गरेको हुनाले सहयोग गर्ने आश्वासन दिएको प्रसाईंले बताए ।

‘उपमेयर लक्ष्मी गौतमको घर पनि सोही टोलमा रहेको छ । उहाँले पनि यसमा विचार गर्नुहुन्छ भन्ने लागेको छ,’ अध्यक्ष प्रसाईंले भने, ‘वडाध्यक्षले पनि सकारात्मक कुरा गर्नुभएकाले र उपमेयरको पनि घर सोही टोलमा भएकाले आशा लागेको छ ।’ तर मेयरको तर्कहीन कुरा सुन्दा भने टोलवासी छक्क परेको र सहयोग पाउनेमा आशङ्का उब्जिएको प्रसाईंले बताए ।