इटहरीः इटहरी– ६ स्थित त्रिवेणी टोल विकास संस्थाको त्रिवेणी मार्गमा धमाधम खाली भित्ता रङ्गिँदै छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको केही दिनभित्रै भित्तामा महिला चित्कार प्रस्तुत भएको जनाउ दिने ‘वाल पेन्टिङ’ कसले र किन बनाउँदैछ भन्ने चर्चाको विषय बनेको छ ।

केही समय पहिले देशैभर भित्तामा कलात्मक जनचेतनामूलक चित्र बनाउने अभियान चल्यो । काठमाडौं, पोखरा, धरानलगायतका शहरमा चलेको यस्तो अभियान बीचैमा रोकियो पनि । खाली भित्तालाई आकर्षक बनाई मानिसको ध्यानाकर्षण गर्ने र चेतनामूलक नारा राखी सोच बदल्न सक्ने समाथ्र्य भएका यस्ता ‘आर्ट’ इटहरीमा बनाइएको हो । यसको मुख्य अभियन्ता इटहरीको सरसफाइमा क्रियाशील रहेको संस्था बुल्स इलेभेन क्लब र यसका अध्यक्ष पूर्ण राई रहेका छन् ।

राईले करिब ३ लाख रुपैयाँको व्यक्तिगत लगानीमा टोल विकास संस्थाभित्र पर्ने विभिन्न खाली भाग सजाइरहेका छन् । उनले महिलामाथि बढ्दो हिंसालाई केन्द्रित गरी वातावरण जोगाउने र लागूऔषध प्रयोगविरुद्धको सूचना कलामार्फत् प्रस्तुत गर्ने जमर्को गरेका छन् । काठमाडौंका कलाकार बोलाएर आर्ट गर्न लगाएका राईले भने, ‘इटहरी हाम्रो घर हो, सार्वजनिक स्थलमा हुने महिलामाथिको दुव्र्यवहार कम होस् भन्ने हाम्रो चाहना रहेको छ ।’

क्लबका उपाध्यक्ष हेमसागर निरौलाले त्रिवेणी टोललाई नमुना टोल बनाउन लागिएको जानकारी दिए । निरौलाले वाल पेन्टिङको माध्यमबाट जनतासमक्ष सही सूचना सञ्चार होस् भन्ने उद्देश्यले रचनात्मक कार्य गरेको बताए । ‘चेतनामूलक दृश्यले समाजका व्यक्तिको सोचाइमा पक्कै केही भए पनि परिवर्तन आउँछ भन्ने हामीले ठानेका छौँ’, उनले भने ।

wal panting 123 pradesh portal

भित्तामा महिला हिंसाविरुद्धको सूचनालाई प्रमुखताका साथ दृश्यमार्फत् प्रस्तुत गरिएको छ भने लागूऔषध प्रयोग गर्न नहुने सन्देश बोक्ने दृश्य पनि रहेका छन् । त्यसैगरी, बढ्दो वातावरण विनाशलाई मध्यनजर गरेर कलाकारले वातावरण संरक्षणमा चासो राख्नुपर्ने सन्देश पनि कलात्मक चित्रमार्फत् दिन खोजेका छन् ।

1234