इटहरीः दातृ निकायको सहयोगमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गर्ने कृषि उद्यम केन्द्र अन्तर्गतको समृद्धि कार्यक्रमका लागि टङ्क दुलाल केन्द्रीय संयोजकमा नियुक्त भएका छन् ।
इटहरी उद्योग वाणिज्य सङ्घ र पूर्वाञ्चल उद्योग वाणिज्य सङघको अध्यक्ष भइसकेका दुलालले प्रदेश १ र २ का ३० जिल्लाभित्र सञ्चालन हुने समृद्धि प्रोजेक्टको निजी क्षेत्रबाट नेतृत्व गर्दैछन् । विदेशबाट फर्केका युवाले ल्याएको सीप र अर्थलाई सदुुपयोग गर्न यो प्रोजेक्टले सघाउ पुर्याउने दुलालले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
सोमबार इटहरीस्थित पोर्टलको कार्यालयमा दुलालले भने, ‘हाम्रो ध्यान मुख्यतः रेमिट्यान्सलाई कसरी सही ढङ्गले सदुपयोग गर्न सघाउ पुर्याउन सकिन्छ भन्नेतर्फ नै केन्द्रित हुन्छ ।’
उनले तरहरामा केन्द्रीय कार्यालय स्थापना गरेर काम शुरु गरिएको जानकारी दिए । तत्कालै सेमिनार आयोजना गरी स्थानीय तहमा रहेका उद्योग वाणिज्य सङ्घका समितिमार्फत् योजना छनोटमा सहभागी गराइने उनले बताए । समृद्धि परियोजनाको शीर्षकभित्र पर्ने विभिन्न योजनालाई बिस्तार तथा विकास गर्न यस कार्यक्रमले टेवा पुर्याउने बताइएको छ ।
युवालाई विदेश पलायन हुनबाट रोक्नु र स्वदेश भित्रिएको विदेशी मुद्रालाई सही सदुपयोग गर्नु प्रोजेक्टको ध्येय रहेको उनको भनाइ छ ।
मुलुकमा प्राविधिक ज्ञानको अभाव हुँदा धेरै युवा विदेश जानुपर्ने बाध्यता रहेको दुलालले बताए । ‘अबको समय प्राविधिक शिक्षा अनिवार्य गर्ने समय हो । यसका लागि सरकारले बेलैमा योजना बनाउनुपर्छ,’ उनले भने ।
समृद्धि कार्यक्रमका व्यवस्थापक सरोज गुरागाईंले सरकार र निजी क्षेत्र सहभागी रहने यो कार्यक्रम ५ वर्ष रहने जानकारी दिए । सन् २०२२ सम्म चल्ने यो कार्यक्रमले युवालाई विदेश पलायन हुनबाट रोक्ने उनको भनाइ छ ।
गुरागाईंले युवा उद्यमलाई बैंकिङ पहुँचसम्म पुर्याउने, कम ब्याजदरमा युवा उद्यमीलाई ऋण प्रवाह गराउन सहयोगी भूमिका खेल्ने र वैदेशिक रोजगारीमा रहेकालाई स्वदेशमै उत्पादनशील क्षेत्रका काम गर्न प्रोत्साहन गराउने कार्यक्रम गरिने योजना रहेको प्रदेश पोर्टललाई जानकारी दिए ।