इटहरीः पछिल्लो समयमा विभिन्न संस्था तथा कम्पनीले पत्रकार सम्मेलनमा मायाको चिनो, उपहार र खाममा पैसा दिएको विषय आलोचना भइरहेको थियो । पत्रकार महासङ्घ झापाले त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेका हुन् । सोमबार निकालिएको विज्ञप्तिमा पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरिएको छ ।

महासङ्घ झापा शाखाको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्चले समाचार नै नहुने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

महासङ्घ झापाले पत्रकारिता पेशा स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने र सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रकाशन र प्रशारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको छ ।

विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता २०७३ र नेपाल पत्रकार महासङ्घ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न÷गराउन पत्रकार महासङ्घका सदस्यलाई आह्वान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरेको छ ।