धनकुटाः धनकुटा, पाँचथर, मोरङ र इलामको सङ्गमस्थल धनकुटाको ६ नम्बर बुधबारे बजारमा अस्पताल निर्माणको चर्चा चलेको एक दशक बितेको छ ।
अस्पताल निर्माणको चर्चा चलेदेखि नै घर पायक स्थानमा स्वास्थ्य सेवा लिन पाइएला भन्ने आशमा रहेका सो क्षेत्रका बासिन्दा अस्पताल निर्माणको कार्य अघि बढ्न नसक्दा अहिले भने निराश बन्न थालेका छन् ।
२०६४ सालबाट अस्पताल निर्माणको चर्चा चलेको ६ नम्बर बुधबारे बजारमा हालसम्म अस्पताल शिलान्यास र भवन निर्माणको लागि माटो परीक्षण गर्ने बाहेक अन्य कुनै काम अघि बढ्न सकेको छैन । ०६४ सालमा सुजाता कोइरालालाई अस्पताल निर्माणको पहल गरिदिन आग्रह गरेका स्थानीयले पछि विमलेन्द्र निधीलाई पनि आग्रह गरेका थिए ।
निधीले आफ्ना बाबुकोे नाममा रहेको ट्रष्टमार्फत् अस्पताल निर्माण गरिदिने भन्दै २०७२ सालमा बुधबारेमा आएर अस्पतालको शिलान्याससमेत गरेका थिए । त्यहाँ पछि भवन निर्माणको लागि माटो परीक्षणको काम भयो र माटोसमेत उपयुक्त देखियो । त्यसयता अस्पताल निर्माणकोे कुनै पनि काम अघि बढ्न सकेको छैन ।
आफूहरूलाई पायक पर्ने स्थानमा अस्पताल बन्छ र स्वास्थ्य सेवा सहज रूपमा लिन पाइएला भन्ने आशामा रहेका स्थानीय बासिन्दा अस्पताल निर्माणको काम अघि बढ्न नसक्दा निराश भएको बुधबारेका विष्णुप्रसाद काफ्ले बताउँछन् ।
सो स्थानमा अस्पताल निर्माणका लागि स्थानीय निकै उत्साहित हुँदै सहयोग गर्दै आएका छन् । उनीहरूले अस्पतालको लागि आवश्यक गर्ने जग्गासमेत खरिद गरेर अस्पतालको नाममा समेत हस्तान्तरण गरिसकेका छन् ।
त्यस्तै, १ लाख ५ हजारका दरले ३० जना व्यक्तिले सेयर लिई आर्थिक सङ्कलनसमेत शुरु गरिसकेका छन् । सुविधायुक्त स्वास्थ्य सेवा अभावमा सो क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा लिन कम्तीमा ४ घण्टाको दूरी तय गरेर धरान– विराटनगर लगायतका स्थानको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय हरेन्द्र आचार्य बताउँछन् ।
अस्पताल निर्माण प्रक्रियाकै क्रममा रहेको र यस वर्षबाट भौतिक संरचना निर्माणको काम अघि बढ्ने अस्पताल निर्माण समितिका अध्यक्ष सोमनाथ दाहालले जानकारी दिए । उता, अस्पताल निर्माणको लागि आफूहरू जस्तोसुकै सहयोग गर्न तयार रहे पनि अस्पताल निर्माणको कुनै पनि काम शुरु हुन नसक्दा अस्पताल नबने हो कि भन्ने शङ्का लाग्न थालेको अस्पताल निर्माण समितिका सदस्य हेमकर्ण तुम्सा बताउँछन् ।
विभिन्न विशेषज्ञ सेवासहित ५० शैैयाको सामुदायिक अस्पताल निर्माणको तयारी भएको थियो । धनकुटाको बुधबारे बजार ४ वटा जिल्लाका १ दर्जन गाउँपालिकाको केन्द्रको रूपमा रहेको छ । बुधबारेमा सुविधा सम्पन्न अस्पताल बन्न सके सो क्षेत्रका २ लाख भन्दा बढीले सहज रूपमा स्वास्थ्य सेवा पाउने स्थानीय बताउँछन् ।