इटहरीः सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने बताएका छन् । प्रदेश १ मा लामो समयदेखि पहिचानसहितको प्रदेशको नामको माग गर्दै आएका लिङ्देनले प्रदेश १ को नामकरणमा लिम्बुवान आन्दोलनलाई बिर्सन र माइनस गर्न नसकिने बताए ।

राजधानीको सवालमा पनि लिङ्देलने प्रदेश १ को राजधानी विजयपुर हुनुपर्ने बताए । प्रदेश पोर्टलसँग बोल्दै लिङ्देनले भने, ‘हामी राजधानीको विषयमा विजयपुरको पक्षमा छौँ ।’

लिङ्देनले प्रदेश १ को नाम प्रदेश नम्बर २ को नाम राखेपछि मात्रै राख्न माग गरे । उनले भने, ‘पहिले प्रदेश २ को नाम मधेस वा मिथिला वा ती दुवै के हुन्छ हेर्ने अनिमात्रै प्रदेश १ को नाम राख्नुपर्छ ।’

राज्यले मधेसका सबै माग पूरा गर्ने तर जनजातिका मागमा भने उदासीन भएको पनि लिङ्देनले बताए । उनले भने, ‘प्रदेश प्रहरी माग गरेको प्रदेश २ मा प्रहरी नदिने भनेको राज्य अहिले प्रदेश प्रहरी दिने सम्झौतामा पुगेको छ । प्रदेश २ ले नै आफूले मागेको क्षेत्र पाएको छ । तर, जनजातिलाई भने हेपिएको छ ।’