लेटाङः लेटाङ नगरपालिकाले सोमबार एक कार्यक्रमका बीच आफ्ना नगरपालिकाका अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण गरेको छ ।

लेटाङ नगरपालिकाको आर्थिक सहयोग र सिबिआर विराटनगरको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । सो कार्यक्रममा ७ देखि ७२ वर्ष उमेर समूहका ३४ जना अपाङ्गता भएका व्यक्तिले सेवा लिएका थिए । उनीहरूलाई लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले सामग्री वितरण गरेका थिए ।

सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले आफू अपाङ्गता भएका नगरवासीको विषयमा सधैं संवेदनशील रहेकाले नगरपालिका त्यस्ता कार्यक्रममा सहकार्य गर्न सधैँ इच्छुक रहेको बताए ।

कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला र वडा नम्बर ८ का अध्यक्ष भीमप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लेटाङ नगरपालिकाका उपप्रमुख, विभिन्न वडाका वडाध्यक्षहरू सिबिआर विराटनगरका कोषाध्यक्ष पितृभक्त पोख्रेल, प्रबन्धक रञ्जना दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सिबिआर विराटनगरले दिएको जानकारीअनुसार भदौ २७ गते जाँच गरिएकामध्ये लेटाङ नगरपालिकाका ३४ जनाले सोमबार ती सामग्री पाएका हुन् ।

सोमबार शिविर नै सञ्चालन गरेर २ जनालाई ट्राइ साइकल, ८ जनालाई बैशाखी, ५ जनालाई वाकर, ४ जनालााई ट्वाइलेट चेयर, ५ जनालाई विशेष खालका जुत्ता, २ जनालाई रोलेटर वाकर, १ जनालाई घँुडामुनिको कृत्रिम खुट्टा, ३ जनालाई विशेष कुर्सी, १४ जनालाई गोलीगाँठो आदि वितरण गरिएको थियो ।

सिबिआरकी प्रबन्धक रञ्जना दाहालले कार्यक्रमको औचित्यको बारेमा प्रष्ट पारेको उक्त कार्यक्रमको सभापतित्व डिपियो लेटाङका अध्यक्ष डिल्लीप्रसाद विमलीले गरेका थिए । कार्यक्रमको सञ्चालन भने डिपियो नगर सचिव तेजबहादुर लिम्बूले गरेका थिए ।