इटहरीः प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यसेवा प्रवाह गर्ने कार्यमा सम्झौता नगर्ने बताएका छन् । आज इटहरीमा सामाजिक विकास मन्त्रालयले गरेको प्रादेशिक वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा घिमिरेले सर्वसुलभ सेवा सरकारको दायित्व रहेको बताए ।

‘सरकार आफ्नो दायित्वबाट पछि हट्दैन’, उनले भने ‘यसका लागि सरकारी योजनाको लक्ष्य भेट्न कर्मचारीले उपलब्धिमूलक ढङ्गले काम गर्नुपर्छ ।’ प्रदेश १ भित्रका सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्दै दरबन्दी पूरा गर्ने कार्यमा भूमिका खेल्ने बताएका छन् । ‘जनशक्ति अभाव रहेको ठाउँमा तुरुन्त पूरा गर्नुपर्छ, हामी गम्भीर भएर संयन्त्र परिचालन गर्नुको विकल्प छैन’, घिमिरेले भने ।

उनले रोग लागिसकेपछि मात्र उपचार गर्ने परिपाटी रहेको भन्दै त्यस्तो अभ्यासलाई परिवर्तन गर्नु जरुरी रहेको बताए । रोग लागिसकेपछि हुने खर्चले रोग लाग्नै नदिने उपाय खोजिनुपर्ने उनको तर्क रहेको थियो ।

३ दिनसम्म चल्ने गोष्ठीमा प्रदेश १ का सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि रहेका छन् । उनीहरूले प्रदेशभित्रका १ सय ३७ स्थानीय तहका करिब ४५ लाख नागरिकलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रवाह गर्ने बारेमा नीतिगत योजना बनाउने प्रदेश १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले जानकारी दिए ।