इटहरीः इटहरीमा ३ दिने खाद्य मेला सञ्चालन हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा मंसिर २१ गतेदेखि २३ गतेसम्म इटहरीमा मेला सञ्चालन हुने भएको हो ।
‘परम्परागत, पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने नाराका साथ खाद्य मेला हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।
मेलामा उद्योग वाणिज्य सङ्घ इटहरी र घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी सह आयोजक रहेका छन् । त्यस्तै, होटल व्यवसायी सङ्घ इटहरी र इटहरी उपमहानगपालिका मेलाको सहयोगीको रूपमा रहने आयोजकले जनाएको छ ।
‘परम्परागत खाद्य पदार्थको पौष्टिकताको महत्वका विषयमा जानकारी गराउने गरी मेला आयोजना गर्न लागिएको हो’, आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले भने, ‘मेलामा होमस्टे र होटलसम्बन्धी संस्थाका स्टल पनि रहनेछन् ।’
त्यस्तै, जातीय खानाका परिकारका साथै खाद्य व्यवसाय र खाद्य उद्यमसँग सम्बन्धित मेसिनरी, खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्स, खाद्य प्रविधिसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने पनि उनले जनाए । स्टल राख्न तथा मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने पनि कोइरालाले बताए ।
मेलाको आकर्षणका लागि सांस्कृतिक कार्यक्रम पनि राखिने उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्टले वताए । मेला मदिरारहित हुने र उद्यमीहरूलाई बजारको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले बताए ।
मेलाले विभिन्न सरोकारवाला निकायबीच समन्वय स सहकार्यमार्फत् खाद्य स्वच्छता, पोषण सुधार तथा खानेबानीमा सुधार गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।