सङ्खुवासभाः जिल्ला सदरमुकामदेखि झण्डै १ सय ३० किलोमिटरको दुरीमा रहेको भोटखोला गाउँपालिकाका स्थानीय गाउँमै नागरिकता पाउँदा दङ्ग परेका छन् ।
जिल्ला प्रशासन कार्यालयले शिविरमार्फत् नागरिकता वितरण गरेसँगै स्थानीय दङ्ग परेका हुन् ।
ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको घुम्ती शिविरमा स्थानीयले नागरिकता पाएका हुन् । भोटखोला गाउँपालिका वडा नं १, २, ३ को हटियामा सञ्चालन गरिएको शिविरमा ६७ जनाले नागरिकता पाएका छन् । जसमा ४२ जना महिला र २५ जना पुरुषले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । जसमध्ये २ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको छ ।
हटियामा सञ्चालित शिविरमा ७० वर्ष सम्मका नागरिकले नागरिकता प्राप्त गरेका छन् । नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी आउन बाध्य स्थानीय गाउँबाटै सेवा प्राप्त हुँदा हर्षित भएका थिए । शिविरमा भोटखोला गाउँपालिका वडा नं २ की दिचिक भोटेले ७३ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् भने सोही ठाउँकी थिजुङ भोटेले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् ।
शिविरमा आएर नागरिकता प्राप्त गरेकाहरूले खाँदबारी जानभन्दा गाउँमै नागरिकता बनाउन पाउँदा खुसी लागेको बताए । यसरी गाउँगाउँबाटै सेवा दिँदा नागरिकले गाउँमै सरकार आएको अनुभूति गर्ने भएकाले शिविर सञ्चालन गरिएको भोटखोला क्षेत्रको अवलोकनमा पुगेका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले बताए ।
स्थानीय तह कायम भएको एक वर्षमा पहिलो पटक भए पनि नागरिकता घुम्ती शिविर सञ्चालन भएपछि स्थानीय पनि खुशी भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाको आयोजनामा भएको शिविर बुधबार गोला बजारमा सञ्चालन गरिने प्रजिअ अधिकारीले जानकारी दिए ।