बेलबारीः बेलबारी नगरपालिकाले नगरपालिकामा रहेका अपाङ्गता भएका नागरिकलाई मङ्गलबार सहायक सामग्री वितरण गरेको छ । बेलबारी नगरपालिकाको आर्थिक सहयोग र सिबिआर विराटनगरको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो ।
५९ जना अपाङ्ता भएका व्यक्तिलाई सो सामग्री दिइएको नगरपालिकाले जनाएको छ । शारीरिक रूपमा अशक्त रहे पनि सामाजिक काममा सबै व्यक्तिको योगदान रहेको हुनाले हिँडडुल गर्न सजिलो होस् भनी सहायक सामग्री वितरण बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । आफू अपाङ्ता भएका नगरवासीको विषयमा सधैं संवेदनशील रहेको पनि उनले सो अवसरमा बताए ।
सिबिआर विराटनगरले गत असोज २० गते जाँच गरेकामध्ये बेलबारी नगरपालिकाका ५९ जनाले मङ्गलबार सहायक सामग्री पाएका हुन् । ट्राइ साइकल, बैशाखी, वाकर, ट्वाइलेट चेयर, विशेष खालका जुत्ता, रोलेटर वाकर,घुँडामुनिको कृत्रिम खुट्टा, विशेष कुर्सी, गोलीगाँठो आदि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।