विराटनगरः भारतको बरौनीबाट को १ ख ५९६५ नम्बरको ट्याङ्करबाट नेपाल आयल निगम विराटनगरको डिपोमा तेल ल्याउने क्रममा तेल चोरेको आरोपमा सो ट्याङ्करका चालकलाई निगमले कारवाही गरेको छ ।

ट्याङ्कर चालक धर्मेन्द्र स्वर्णकारले बाटोमै २ हजार ४ सय ८४ लिटर डिजेल चोरी गरी बिक्री गरेको नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुकार यादवले बताए । तेल जाँच गर्ने क्रममा कम परिमाण देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको यादवले जनाए । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले गरेको अनुसन्धानका क्रममा चालकले ट्याङ्करको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताइएको छ ।

ढुवानीकर्ताले तिरे दोब्बर मूल्य
घटनापछि ट्याङ्करधनी सुखदेव सिंहले अब यस्तो घटना हुन नदिने भनी आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गरेका थिए । ट्याङ्कर चालक स्वर्णकारले चोरेको तेलको दोब्बर रकम निगमको खातामा ट्याङ्करधनी सिंहले जम्मा गरिसकेको बताइएको छ । निगमले तेल ढुवानीकर्ता सुखदेवलाई ३ महिना तेल ढुवानी गर्न बन्देज गरेको जनाएको छ । त्यस्तै, चालक स्वर्णकारले निगमको ट्याङ्कर चलाउन नपाउने र निगमको हाताभित्र ६ महिना प्रवेश पनि गर्न नपाउने गरी नसिहत दिएको निगमले जनाएको छ ।