इटहरीः स्थानीय तहको निर्वाचन भएपछि केन्द्रको सिंहदरबारको अधिकार गाउँगाउँसम्म आयो । केन्द्रको जस्तै अधिकार दुरुपयोग गर्ने प्रचलन पनि सँगै भित्रियो । नभन्दै जनताको विकास निर्माणका लागि खर्च गर्न गाउँ पठाइएको बजेट स्थानीय जनप्रतिनिधिले सेवा सुविधामा खर्च गर्न प्रतिष्पर्धा गर्न थाले । फलस्वरूप महङ्गा विलासी गाडी किनेर सर्वत्र आलोचना पनि खेपे । परिवर्तित व्यवस्थामाथि नै प्रश्न उठ्न थाले ।
तर, यस्ता आलोचनाको बीचमा भोजपुरका एक जनप्रतिनिधिले भने सरकारी खर्चबाट गाडी नचढ्ने घोषणा गरेका छन् । निर्वाचन अघि जनतामाझ जाँदा सेवा सुविधा आफूले लिने भन्दा जनताको काममा जवाफदेही हुने प्रतिबद्धता व्यक्त गरेका भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले हालसम्म गाडी (कार) किनेका छैनन् ।
उनी मोटरसाइकलमै प्रदेश सरकार कार्यालयसम्म आउनेजाने गर्छन् । उनी विभिन्न सेमिनार तथा कार्यक्रम हुँदा समकक्षीहरूको जस्तो महङ्गा र विलासी गाडीमा आउँदैनन् । धुस्रेफुस्रे हुँदै कार्यक्रममा पुग्ने कतिपयले उनलाई स्थानीय सरकार प्रमुख हो भन्दासम्म नपत्याएको तितो यथार्थ उनी बताउँछन् ।
प्रदेश पोर्टलसँग कुरा गर्दै राईले भने, ‘जनताको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । स्थानीय तहको क्षमताअनुसार केमा खर्च गर्ने मैले सोचेको छु, मलाई जनताको विश्वास छ त्यो डगमगाउन दिन्नँ ।’ उनले आफ्ना २ वडाबाहेकका अन्य वडामा अझैसम्म पनि बिजुली नपुगेको बताए । ३ हजार ३ सय मिटर सम्मको उचाइमा रहेको गाउँपालिकामा १७ हजार जनसङ्ख्या रहेको छ ।
त्यहाँको शिक्षालाई गुणस्तरीयता प्रदान गर्न सरकारी शिक्षको गुणस्तर वृद्धि गर्ने उनको ध्येय छ । अधुरो शिक्षाले समाज रूपान्तरण असम्भव रहेको बताउने राई सरकारी शिक्षाको गुणस्तर बढाउनमा जोड दिएको बताउँछन् ।