नेपालको हरेक स्थान विशेषमा खास जात जाति वा थरका मानिसको बसोबास रहेको पाइन्छ । तराई, पहाड, हिमाल सबैतिर यही समान विशेषता छ । नेपालको एकीकरणपछि वा बसाइँसराइँका कारण यस्तो संरचनामा पूर्णतः कायमै नरहे पनि हरेक जातजातिको ऐतिहासिक थातथलो तराई पहाड र हिमालमा कुनै खास ठाउँ रहि आएको छ । अनि हामीलाई गर्व लाग्छ कि हामी नेपाली हुनुमा अनि हाम्रो देश नेपाल हो भन्नुमा ।

जिल्लाको विकट मानिने भोटखोला गाउँपालिकाका नागरिक पनि खास आफ्नो पहिचान के हो भन्नेतर्फ लागेका छन् । उनीहरूलाई लाग्छ, ‘हामी नेपाली हो कि चिनियाँ नागरिक ?’

राज्यको नजरबाट उपेक्षित भोटखोला क्षेत्रमा बसोबास गर्ने भोटे, शेर्पा, तामाङ जातिका नागरिकहरू चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर रहँदै आएका छन् । भोटखोला गाउँपालिकाकै किमाथाङ्का गाउँ नेपालको तिब्बतसँग जोडिएको अन्तिम बिन्दु हो । किमाथाङ्का पुगेका कुनै पनि नागरिक नेपाल भन्दा फरक मुलुक पुगेको महसुस गर्छन् । यहाँका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतको रियु जिल्लामा पर्ने देन्दाङ शहर र नजिकैका चाँगासँग जोडिएर बसेका छन् ।
‘हामी खाद्यान्नसहित लत्ताकपडाहरूमा पनि चीनको स्वशासित क्षेत्र तिब्बतीय क्षेत्रमा नै भर पर्छाँै’, स्थानीय मुटुक भोटेले भने, ‘त्यसैले हाम्रो पहिचान के हो भन्ने लागेको छ ।’
करिब ५ किलोमिटरको फरकमा पर्ने देन्दाङ शहर र नेपाली भू–भाग किमाथाङ्काबीच विकासको सन्दर्भमा आकाश जमिनको फरक छ । तिब्बतियन जीवनशैली र नेपाली जीवनशैली उस्तै देखिन्छन् । विभिन्न सेवा, सुविधा, सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य सेवा र विकास निर्माणका कारणले किमाथाङ्काका नेपाली जनताले आफूहरू राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेका छन् ।

अब भने भोटखोलाका बासिन्दाहरू विकास निर्माणको चाहना पूरा हुने आशामा छन् । भोटखोलाबासीहरूले ३ सय ६२ किलोमिटर लम्बाइ रहेको चीन र भारत जोड्ने किमाथाङ्का नाका खुल्ने सपना साँचेको दशकौं बितिसकेको छ । यो अवधिमा समृद्ध मुलुक चीन र भारत जोड्ने सङ्खुवासभा जिल्लास्थित सबैभन्दा छोटो नाका किमाथाङ्का सञ्चालनका लागि पटक पटकको सरकारले उनीहरू सामु प्रतिबद्धताहरू व्यक्त गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा मुलुकका प्रभावशाली नेताहरूले ६ लेनको बाटो बनाउने सरकारी घोषणा गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव कुमार नेपाल, तत्कालीन उपप्रधानमन्त्री विजय कुमार गच्छदार, पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्व अर्थमन्त्री रामशरण महत लगायतका दर्जनौं नेताले सो क्षेत्रको भ्रमण गरिसकेका छन् । तर उनीहरू आएर पटकपटक सडक र किमाथांका नाका सञ्चालन गर्ने भनी जाहेर गरेका प्रतिबद्धताहरू भोटखोलाबासीहरूले अझै बिर्सेका छैनन् ।

पुनः केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भएर पनि एक वर्ष पुगिसकेको छ । यतिबेला फेरि भोटखोलाका बासिन्दाहरू नेताहरूले वाचा पूरा गर्नेमा आशावादी देखिएका छन् । पुस्तौंदेखि भोग्दै आएको कष्टकर जीवनबाट सहज जीवनयापनका लागि यसपटकको सरकारले आफूहरूलाई न्याय दिने उनीहरूको विश्वास छ । पटकपटक राष्ट्रका प्रमुख व्यक्तित्वहरूको आश्वासन सँगाल्दै आएका उनीहरूले अबको नयाँ सरकारबाट भने आफूहरूको सपना पूरा हुने आशा राखेका छन् । अहिले सङ्खुवासभाबाट प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ६ जना सांसदहरू छन् । भोटखोला २ रुकुमाका शिक्षक कमल लामाले आफ्नो गाउँसम्म सडकको चाहना राख्ने आफ्ना बुवाको पालाको सपना पूरा हुन नसके पनि आफ्नो पालामा भने विकासको मुहार हेरेरै मर्ने चाहना रहेको बताए ।

सदरमुकाम खाँदबारीबाट हप्ता दिनको पैदल दूरीमा पुगिने किमाथाङ्काको सयौं पटक यात्रा गर्दा आफूलाई राज्य र सरकारप्रति सधैँ ग्लानि हुने गरेको उनको भनाइ छ । उनले भने, ‘आफ्नै देशमा पाहुना हुनुपरेको छ । राष्ट्रका लागि करोडौंैंको आम्दानी भित्र्याइरहेका दर्जन बढी बहुमूल्य जडिबुटी, लोपोन्मुख दुर्लभ प्रजातिका जीवजन्तु र लाखौं पर्यटक तान्न सक्ने प्राकृतिक दृश्य तथा दर्जनौं हिमशृङ्खलाले भरिपूर्ण भोटखोला क्षेत्र राज्यबाट पूर्ण रूपमा उपेक्षित रहेको उनले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरूले यस पटक घरदैलोसम्म आएर भोटखोला क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुलीबत्तीलाई प्राथमिकता दिनेछौं भनेका छन्, यसपटक भने आपूmहरू निकै आशावादी रहेको भोटखोला–४ सिपु्रङका वाङ्छेदर भोटेको भनाइ छ ।
यसपटक भने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले भोटखोला क्षेत्रमा निकै दिन खर्चेर भ्रमण गरेपछि भने भोटखोलावासी आशावादी बनेका हुन् । ‘अब त विराटनगरबाट किमाथाङ्का जोडिन पनि जम्माजम्मी २३ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ,’ स्थानीय मुटुक भोटेले भने, ‘त्यो पनि नेपाली सेनालाई दिने तयारी छ भन्ने सुनेर हामीलाई आशा पलाएको छ ।’

निर्माणाधीन किमाथाङ्का सडकखण्डलाई दु्रत गतिमा अघि बढाई कच्ची सडक ढलान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राख्ने हो भने भारतसँगको एकल परनिर्भरता हट्ने निश्चित छ । यसो हुन सकेमा २ समृद्ध मुलुकहरू भारत र चीनसँगको व्यापार प्रवद्र्धनमार्फत् समृद्धि भित्र्याउन थप सहज हुने सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज शाक्य बताउँछन् ।
चीनमा उद्गमस्थल रहेको सप्तकोशी नदीको सबैैभन्दा ठूलो सहायक अरुण हिमनदी यसै भोटखोला क्षेत्र हुँदै नेपाल प्रवेश गरेको छ । यसबाट ९ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माणाधीन अवस्थामा छ । अझै हजारौँ मेगावाट बिजुली उत्पादन गरी अरबौंको वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिने प्रशस्त सम्भावना भोटखोला क्षेत्रले बोकेको छ ।

भोटखोलाले यस क्षेत्रको मात्र नभएर सिङ्गो मुलुकको आर्थिक समृृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने भोटखोला गाउँपालिकाका अध्यक्ष ठिलेन भोटे बताउँछन् । भोटखोला प्राकृतिक स्रोत, साधन र जडिबुटीको खानी हो ।

सरकारले त्यस क्षेत्रको प्राकृतिक स्रोत साधनको सही परिचालन गर्ने हो भने प्रदेश १ का १४ जिल्लाको मात्र नभएर देशकै अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने नेकपाका नेता खड्ग राईले बताए । खाँदबारीबाट २ सय किलोमिटरको दूरीमा रहेको विराटनगर रानी सडक अहिले दैनिक सञ्चालनमा रहेकाले अब किमाथाङ्का र भारतको जोगबनी नाका सञ्चालन हुने भोटखोलाका बासिन्दाहरूले आशा राखेका छन् । मुलुकका प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू हेलिकप्टरमार्फत आएर यहाँका स्थानीय समक्ष किमाथाङ्का नाका सञ्चालन र भोटखोला क्षेत्रको विकासका लागि वचन दिएकाले यसपटक भोटखोलावासीहरू बढी आशावादी देखिएको भोटखोला–२ का दावा रिञ्जिन भोटे बताउँछन् ।