विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले केराबारी गाउँपालिकामा आयोजना गरेको घुम्ती शिविरबाट ४ सय ७२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्गलबार र बुधबार गरी २ दिन शिविर सञ्चालन भएको थियो । सो शिविरमा ४ सय ५५ जनाले मतदाता परिचयपत्रको लागि तस्बिर खिचाएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

त्यस्तै, सो शिविरमार्फत् जिल्ला वन कार्यालयबाट करिब १ हजार ५ सय बिरुवा वितरण गरिएको थियो । शिविरमा महिला हिंसा र लागुऔषधका बारेमा सचेतना शिक्षा पनि दिएको बताइएको छ ।