झापाः झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक वर्षको आफ्नो पारिश्रमिक मजदुर हितकोषमा जम्मा गरेका छन् ।

नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्नेबित्तिकै मजदुरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हितकोषमा प्रमुख पोखरेलले १ वर्षको पारिश्रमिक बापतको ३ लाख ४० हजार जम्मा गरेका हुन् ।

नगरपालिकाले ५ वर्षमा १ करोड रुपैयाँ जम्मा गर्ने गरी हित कोष शुरु गररेको र हालसम्म २० लाखभन्दा बढी जम्मा भइसकेको उनले बताए । उनका अनुसार नगरपालिकाले १५ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । त्यसमा आफ्नो तलबबापतको रकम र मजदुरबाट सङ्कलन गरिएको रकम हितकोषमा जम्मा भएको नगरपालिकाले जनाएको छ ।

कनकाईका मेयरका अनुसार आपतविपत तथा अप्ठ्यारोमा परेका मजदुरलाई सघाउने उद्देश्यले स्थापना गरेको हितकोषमा नगरका प्रत्येक मजदुरले प्रत्येक महिनाको १ दिनको पारिश्रमिक बापतको रकम जम्मा गर्दै आएका छन् ।

नगरप्रमुखकै संयोजकत्वमा बनेको समितिले मजदुर बिरामी भएमा, कार्यस्थलमै दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा देहावसान भएमा सो हितकोषको ब्याजबाट सहयोग गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ । नगरपालिकाले नगरका ३० जना मजदुरको रु १० लाखका दरले निःशुल्क बीमासमेत गरिदिएको छ ।

गाडी किन्न छुट्याएको रकमले सडक
कनकाई नगरपालिकाले गाडी किन्नका लागि छुट्याएको बजेट सडक निर्माणमा खर्च गरेको छ । नगरले गत आव २०७४÷७५ मा गाडी खरीद शीर्षकमा रु ४० लाख बजेट छुट्याएको थियो । सो रकमबाट नगरले गाडी खरीद नगरेर सडक निर्माण गरेको नगरप्रमुख पोखरेलले बताए ।