सङ्खुवासभाः सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट १ सय ६२ किलोमिटर दुरीमा भोटखोला गाउँपालिकाको किमाथाङ्का पर्छ । किमाथाङ्का छिमेकी मित्रराष्ट्र चीनको चाँगा बजारको सिमाना हो । किमाथाङ्का र चाँगा बजारको बीचबाट अरुण नदी बगिरहेको छ । पारी हेर्दा चीनको भूमि र वारी नेपाली भूमि प्रष्टै छुट्याउन सकिन्छ ।
आफ्नो भूमि बचाउनको लागि चीनले फलामसहितको कङ्क्रिट वाल लगाएको छ भने नेपालतर्फ ग्याबिन वालमात्रै छ । चीनतर्फ भने विकास निर्माण तीव्र गतिमा भइरहेको छ । चीनले अरुण नदी फर्काएर गिटी, बालुवा निकाल्दा नेपाली भूमि कटान भइरहेको छ । बर्खाको समयमा नदीको वहाव उच्च हुँदा नेपाली भूमिमा अझै धेरै कटान हुने सम्भावना बढेको छ ।
नाका क्षेत्रको चाँगा र देन्दाङबजार बिस्तार गर्न चीनले २ वर्षदेखि निर्माण तीव्र बनाउँदै नदीमा स्काभेटर लगाएर बालुवा झिक्ने गरेको र नदीलाई नेपालतर्पm मोडेको स्पष्ट देख्न सकिन्छ । नदीलाई नेपाली भूमितर्फ फर्काएर दैनिक तीनदेखि चारवटा स्काभेटरले बालुवा निकाल्दा नेपालतर्फको क्षेत्र कटानमा परेको पाइएको छ ।
यसै साता मात्रै प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, सरिता खड्का, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी लगायत जिल्लाका उच्च अधिकारीको टोलीले सीमा क्षेत्रको अवलोकन गरेको थियो । अवलोकन पश्चात सदरमुकाम खाँदबारीमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले अरुण नदीमा तत्काल तटबन्ध निर्माण गर्नु पर्ने आवश्यकता महसुस भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य गौतमका अनुसार अरुण नदीमा तटबन्ध निर्माण गर्नका लागि करिब २५ करोड बजेटको अवश्यकता पर्ने अनुमान छ । यता, भोटखोला गाउँपालिकाको वडा नम्बर १ ले तटबन्ध बनाउन वडा परिषद्बाट ५० लाख रुपैयाँ विनियोजन गरी केही भागमा ग्याबिन वाल भने लगाएको छ । ग्याबिन वाल नलगाउँदासम्म नेपाली भूमि कटान तीव्र गतिमा थियो । ग्याबिन वाल लगाएपछि भने कटान रोकिएको छ तर कुनै बाढीपहिरो जाँदा भने नेपाली भूमि अत्यन्तै धेरै कटान हुने सम्भावना रहेको छ ।
चीन पक्षले अरुण नदीको किनारलाई तटबन्धकै रूपमा निर्माण गरी सडक बनाएपछि नदीले धार परिर्वतन गरी सयौँ रोपनी नेपाली जमिन कटान भएको भोटखोला गाउँपालिकाका अध्यक्ष ठिलेन भोटेले बताए । यसको समधानका लागि नेपालले करिब १ हजार मिटर तटबन्ध लगाउनुपर्ने महसुस भएको सांसद गौतमले बताए ।
रिउ, नादाङ हुँदै सीमाबजार चाँगा र देन्दाङसम्म चीनले पाँच वर्षअघि नै सडक ल्याइपु¥याएको छ । सीमा बजार व्यवस्थित बनाउन १५ वर्षे योजनासहित शहरीकरण र निर्माण शुरु गरेकाले अरुण नदीबाट गिटी र बालुवा निकाल्ने काम तीव्र बनाएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
२ देशको सिमाना नै अरुण नदी भए पनि चीन प्रशासनले एकतर्फी रूपमा खोलाबाट गिटी बालुवा निकालेको उनको भनाइ छ । २ वर्षदेखि बालुवा निकालेपछि नदी घुमाउरो भई नेपालतर्फ बग्दा नेपाल क्षेत्रको सयौं रोपनी भूमि कटान हुन थालेको स्थानीयवासीले जनाएका छन् ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले यस विषयमा संसदमा समेत जानकारी गराउने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सम्बन्धित निकायमा जानकारी गराउने बताएका छन् ।
चीनले भन्योः छिटो बाटो बनाऊ
भोटखोला क्षेत्रको भ्रमणमा पुगेका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमका अनुसार चीन सरकाले नेपाल सरकारलाई छिटो बाटो बनाउन आग्रह गरेको छ । भोटखोलाको भ्रमणमा टोली पुग्दा छिमेकी मुलुक चीनको देङ्जी जिल्लाको प्रतिनिधि मण्डलसँग शिष्टाचारपूर्ण भेटमा छिटो बाटो बनाउन चीनले भनेको हो ।
प्रतिनिधिसभा सदस्य गौतमसँगको भेटमा चीन सरकारले कहिलेसम्म किमाथाङ्का बाटो जोड्ने भन्दै प्रश्न गरेको गौतमले बताए । सो भेटवार्ता सङ्घीय र प्रदेश सरकारको स्वीकृतिमा भएको थियो । यसका साथै भेटवार्ताको क्रममा दुवै क्षेत्रका प्रतिनिधिले ५ बुँदे समझदारी समेत गरेका छन् ।
सो समझदारीमा दुई देशको सीमा प्रशासन, सुरक्षा अवस्था, व्यावसायिक गतिविधिमा तीव्रता र आवागमनका विषयमा समेटिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । यो सहमतिलाई दुवै पक्षले आ–आफ्नो माथिल्लो आधिकारिक निकायमा अनुमतिका निम्ति प्रतिवेदन पेश गरेका छन् । यसैबीच चीन र नेपालको सीमा कामु नदीमा मितेरी पुल बनाउने पनि समझदारी भएको छ ।
सांसद गौतमका अनुसार चीनले कामु खोलामा केही तल मितेरी पुल बनाउन लागेको भए पनि पानीको वहाब बढ्दा त्यो पुल खतरामा पर्ने भएकाले आपसी समझदारीमा पुल माथि सारिने भएको छ । यो पुल निर्माणको लागि राजदूतमार्फत् नेपाल सरकारले पहल गर्ने बताइएको छ ।