धरानः धरान–१४ स्थित पिण्डेश्वर बाबाधाम मन्दिर परिसरमा निर्माण गरिएको सन्त सेवा आश्रम तथा धुना भवनको बुधबार उद्घाटन गरिएको छ ।
सन्त सेवा आश्रम पिण्डेश्वर महादेव मन्दिर समितिले निर्माण गरेको भवनको काठमाडौंबाट आएका नागाबाबा महन्त कल्याणपुरी महाराजले उद्घाटन गरे ।
समितिका सदस्य राजु थापाका अनुसार २ वर्षदेखि निर्माण शुरु गरिएको १ तले सो २ कोठे भवनको हालै निर्माण सम्पन्न भएको हो । करिब १५ लाखको लागतमा निर्माण गरिएको भवनमा १५ जना साधुसन्त बस्न सक्ने क्षमता रहेको बताइएको छ ।
छेवैमा धुना बाल्ने व्यावस्था गरिएको पनि उनले बताए । त्यसैगरी, बाबाजी तथा माताजीहरूका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था पनि गरिएको छ । उक्त भवन विभिन्न दाता तथा बाबाजीहरूले सङ्कलन गरेको दान र दक्षिणाबाट निर्माण गरिएको बताइएको छ । त्यस्तै, केही वर्षअघि मन्दिरले आयोजना गरेको शिवपुराणबाट उठेको रकम समेत थप गरिएको थापाले बताए ।
कार्यक्रममा १४ नम्बर वडाका अध्यक्ष कृष्ण भट्टराई, पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीलगायतले मनतव्य राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।