धरानः महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार दुव्र्यवहार प्रतिकार’ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिला सञ्जाल धरानको आयोजना र महिला एकता समाजको व्यवस्थापनमा धरान–२ स्थित निकेतन माविका विद्यार्थीलाई लागुऔषध तथा यौन दुव्र्यवहार सम्बन्धमा अनुशिक्षण गराइएको हो । स्कुल परिसरमा गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालय धरानका इन्चार्ज प्रहरी नायब निरीक्षक जसबहादुर लिम्बू, महिला सञ्जाल धरानकी कोषाध्यक्ष लहरु जिमी र धरान उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले सहजीकरण गरेका थिए ।
लिम्बूले कानुन र अपराधको बारेमा विद्यार्थीहरुलाई सचेत गराएका थिए । उनले कानुनको अज्ञानता क्षमा नहुने बताए । त्यसैले कानुनभन्दा कोही पनि माथि नहुने हुनाले कानुनको विरुद्धमा कोही पनि जान नहुने स्पष्ट पारे । लागुऔषध दुव्र्यसनीका कारण हाम्रो समाज जर्जर अवस्थामा पुगेको बताउँदै सबैभन्दा धेरै युवा पिढी दुव्र्यसनमा लिप्त भएको उनले बताए ।
त्यस्तै, यौन दुव्र्यहारका घटना हाम्रो समाजमा दिनप्रतिदिन बढ्दै गएकाले यस्ता सचेतना कार्यक्रमले ठूलो भुमिका खेल्ने हुनाले निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
अनुशिक्षण कार्यक्रममा महिला अधिकारकर्मी, विद्यालयका विद्यार्थी तथा जनप्रतिनिधिलगायतको सहभागिता रहेको महिला एकता समाजकी सचिव सुस्मिता शाक्यले बताइन् । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, विद्यालय व्यास्थापन समितिका अध्यक्ष तथा समाजसेवी रमेश राई र प्राचार्य उमेश गुरागाईलगायतले आफ्नो भनाइ राखेका थिए ।