विराटनगरः प्रदेश नम्बर १ को राजधानी विराटनगरमा निर्मला पन्तको न्यायका लागि माग गर्दै प्रदर्शन भएको छ । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको प्रदर्शन प्रदेश सभाको सचिवालय अगाडि पुगेर कोणसभामा टुङ्गिएको हो ।

प्रहरीले ढाँटेछ, पैसासँग साटेछ, नालायक सरकार मुर्दावाद, महिला हिंसा अन्त्य गर, केपी ओली राजीनामा दे, पोलपोलमा सरकार, टोलटोलमा बलात्कार भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । युवा अभियन्ता स्मिता श्रेष्ठले अहिलेको सरकार बलात्कारीलाई कारबाही गर्नभन्दा जोगाउन लागिपरेको बताइन् ।

युवा अभियन्ता कृष्ण कार्कीले प्रदेश र केन्द्रमा वाम गठबन्धनको नेतृत्वमा सरकार जनताप्रति निर्मम रूपमा अगाडि बढिरहेको बताए । गत साउनमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । त्यस्तो जघन्य अपराधको विरुद्धमा युवाहरू चुप लागेर बसे भने हजारौँ निर्मलाहरू न्यायबाट वञ्चित हुने उनको भनाइ थियो ।

सो प्रदर्शनका सहभागीले एक नम्बर प्रदेशको संसदीय कार्यालय अगाडि पुगेर पम्पलेट टाँसेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर विरोध र्याली कोणसभामा परिणत भएको थियो ।

सरकार धेरै अराजक तरिकाले अगाडि बढेका कारण प्रदेश नम्बर १ का युवाहरूले हरेक क्षेत्रबाट दबाब दिनुपर्ने प्रदर्शनमा सहभागी अर्का युवा सेन्ट्रो महतले बताए । आजसम्म युवाहरूले हार्न नजानेको भन्दै यो आन्दोलनमा पनि युवाहरूको जीत हुने उनको भनाइ थियो ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘सक्छस् भने गोली हान्, शहीद हुन तयार छौँ,’ भन्दै आन्दोलन गरेका थिए । प्रदेश संसदीय कार्यालय अगाडि पोस्टर टाँस्न पुगेका युवाहरूबाट प्रहरीले पोस्टर खोसेको थियो । यो न्यायको पोस्टर भएकाले केही दिन यस्तै आन्दोलन जारी राख्ने सहभागी युवाहरूले बताए ।

nirmala panta ko nyaalayko poster (2)