धनकुटाः बाँस सामान्यतया घरमा वा बारीमा बारबेर गर्ने र दाउराको रूपमा प्रयोग गर्ने गरिन्छ । त्यसबाहेक प्राय प्रयोग विहीन बन्ने गरेको पाइन्छ ।
तर गाउँघर, खोला खोल्सीमा खेर गएका बाँसबाट कलात्मक सामग्री बनाएर एउटा बाँसबाटै हजाराँै रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्दा भन्दा जोकोहीलाई विश्वास नलाग्ला । धनकुटाका उद्यमीले भने बाँसका कलात्मक सामग्री निर्माण गरी एउटै बाँसबाट १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
बाँसको भाटा र चोया प्रयोग गरी विभिन्न प्रकारको सामग्री निर्माण हुने गरेको छ । उनीहरूले कोठामा सजाउनेदेखि दैनिक जीवनमा प्रयोग हुने डोका, डाला, चाल्नी, ढक्कीजस्ता ४० प्रकारका सामग्रीहरू बाँसबाट बनाउँछन् । एउटा बाँसबाट सामान्य किसिमका विभिन्न कलात्मक सामग्री निर्माण गर्दा १ हजार ५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने स्थानीय उद्यमी नीलकुमार राई बताउँछन् ।
प्रयोगहीन जराबाट बढी आम्दानी
माटोको सतहभन्दा माथिको बाँस विभिन्न किसिमले प्रयोग गरिए पनि बाँसको जरा भने खासै प्रयोग हुँदैन । बाँसको जरा प्रयोग भइहाल्यो भने दाउराको रूपमा मात्रै प्रयोग हुन्छ । तर त्यही बाँसको जराबाट निर्माण गरिएको सामग्रीको मूल्य भने ७ हजार रुपैयाँसम्म पर्ने गरेको छ । बाँसका जराबाट चरालगायतका विभिन्न आकृति निर्माण गर्न सकिन्छ ।
धनकुटामा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयमा बाँससम्बन्धी १५ वटा उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । त्यस्तै अन्य १ सय वटाभन्दा बढी उद्योगले दर्ता नगरी यस्ता सामग्री निर्माण गर्ने गरेका छन् । जिल्लामा ६ सय भन्दा बढीले बेतबाँस उद्योगमा रोजगारी पाएका छन् ।
धनकुटाको शहीदभूमि गाउँपालिकाको आँखीसल्लामा बढी मात्रामा बाँसका कलात्मक सामग्री निर्माण हुने गरेका छन् । त्यसबाहेक धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिकामा पनि स्थानीय उद्यमीले बाँसका सामग्री निर्माण गर्ने गरेका छन् ।
बाँसजन्य सामाग्री बिक्रीबाट जिल्लामा वार्षिक करिब एक करोड रुपैयाँभन्दा बढी रकम भित्रिने गरेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख दीपक पौडेल बताउँछन् ।
धनकुटामा बाँसजन्य उद्योगप्रति उद्यमीको आकर्षण बढ्दै गएपछि घरेलु तथा साना उद्योग विकास समितिले बर्सेनी उद्यमीहरूलाई निःशुल्क तालिमको व्यवस्था गरी बजार प्रवद्र्धनको लागि मेला र प्रदर्शनीमा सहभागिताको लागि पहल गरिदिने गरेको छ । बाँसका सामग्री निर्माण गरी धनकुटाका उद्यमीले विभिन्न राष्ट्रिय स्तरका पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।
बाँसबाट उत्पादन भएका सामग्री दशैं र तिहारको समयमा बढी बिक्री हुने गरेको उद्यमी बताउँछन् । यहाँ उत्पादन भएका सामग्री झापा, मोरङ, सुनसरी तथा काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरिएको उद्यमीको भनाइ छ । त्यस्तै, जराबाट निर्माण गरिएको कलात्मक सामग्रीको अन्तर्राष्ट्रिय बजारमा समेत माग हुने गरेको छ ।