ताप्लेजुङः प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४ महिनामा करिब रु ५० लाख सङ्कलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणना गर्दा ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको बताइएको छ । तर, भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जनाए ।

त्यस्तै सुन तथा चाँदीलगायतका गरगहना पनि बिक्री गर्न बाँकीे रहेको बताइएको छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साँचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् ।

स्वदेशी तथा विदेशी गरी वार्षिक २ लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटीघाटी सङ्कलन हुँदै आएको छ ।