धरानः ‘प्रोर्टल हाइपेरटेन्सन’ (खाना नलीका नशाहरूमा रगतको मात्रा बढ्ने) रोगबाट पीडित बनेकी सुनसरीको वराहक्षेत्र–४ भरौलकी एक महिलालाई आर्थिक अभाव भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा उपचाररत भरौलकी ३२ वर्षीया पूर्णमाया कट्वाललाई उपचारमा आर्थिक समस्या भएको हो । पूर्णमाया १२ वर्षदेखि यो रोगबाट गुज्रिरहेकी छिन् ।
६ दिनअघि प्रतिष्ठानमा भर्ना भएकी पूर्णमायाको अप्रेसन गर्नुपर्ने भएकाले परिवार यतिबेला चिन्तित अवस्थामा छ । आमा चीनकुमारी कट्वालले आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचारमा समस्या भएको सुनाइन् । उनले सबैसँग सहयोग गरेर आफ्नी छोरीको जीवनरक्षा गरिदिन आग्रह गरिन् ।
मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई विशेष गरेर यो रोग देखा पर्ने पूर्णमायाको उपचारमा संलग्न मध्येका चिकित्सक ऋचा नेपालले बताइन् । उनका अनुसार पेटमा पानी जम्ने र खाना नलीका मुख्य नशाहरू फुटेर यस्तो समस्या हुने गर्दछ । तर, पूर्णमायाले मादक पदार्थ सेवन नगरे पनि रोग देखा परेको र यस्तो घटना विरलैहुने डाक्टर नेपालको भनाइ छ ।
अहिले पूर्णमायालाई रगत दिने र रगत जाने नशाहरू नफुटून्् भनेर औषधिहरू दिइरहेको उनले बताइन् । एक वर्ष अघि पनि पूर्णमाया त्यही समस्याले प्रतिष्ठान भर्ना भएकी थिइन् । अब भने उनको अप्रेशन गर्नुको कुनै विकल्प नभएको उनले बताइन् । ‘अब उहाँलाई अप्रेशन गर्नुपर्छ पूर्ण जाति हुनको लागि,’ डा. नेपालले भनिन्, ‘यहीँ उपचार सम्भव रहेकाले भनेका हौं । तर, उहाँहरूसँग पैसाको अभाव रै’छ ।’
पूर्णमायाको रगत परीक्षण, बेड शुल्कलगायत प्रतिष्ठानले निःशुल्क गरिदिएको छ । पूर्णमायाले अहिले दैनिक ७–८ हजार रुपैयाँसम्मको औषधि सेवन गरिरहेकी छिन् । महङ्गो औषधी सेवन गर्नुपर्ने हुँदा आफ्नो आर्थिक अवस्थाले नभ्याएको कट्वाल परिवारले जनाएको छ । उनको उपचारमा सहयोग गर्नेहरूले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २२ २०० ५१६९ १० मा जम्मा गर्न सकिने परिवारले बताएको छ ।