इटहरीः ‘सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ले एक नम्बर प्रदेशको नामको विषयमा प्रदेश सरकारलाई दबाब दिने भएको छ । प्रदेश नम्बर १ को नाम ‘लिम्बुवान, किरात खम्बुवान’ प्रान्त राख्न मञ्चले दबाब दिने भएको छ ।
इटहरीमा पत्रकार सम्मेलन गरी प्रदेश एकको नामङ्कनको बारेमा दबाब दिने बताइएको छ । दुई तिहाइको सरकारले साना पार्टीहरूलाई पेल्दै प्रदेशको नामकरण गरी राजधानी तोक्न खोजेको आरोप लगाउँदै मञ्चले त्यसको प्रतिकार गर्ने जनाएको छ ।
मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङले नामको बारेमा संसद भवन अगाडि धर्ना दिने, अनिश्चितकालीन धर्ना लगायतका कार्यक्रम गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै चेम्जोङले प्रदेश नं १ को भन्दा अगाडि प्रदेश नम्बर २ को नामङ्कन गर्न सुझाए । लिम्बुवान र खम्बुवान जस्तो ऐतिहासिक सभ्यतालाई पाखा लगाएर अरु नै नाम राख्न खोजेको भन्दै उनले दुःख व्यक्त गरे ।