इटहरीः निजी शैक्षिक संस्थासँग सरकारले सहकार्य नगरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फेले बताएका छन् ।
सुनसरी प्याब्सनको १४ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै सम्बाहम्फेले सरकारले स्थानीय तथा राष्ट्रिय शिक्षासम्बन्धी काम गर्दा सहकार्य नगरेको बताएका हुन् ।
‘माध्यमिक तह मात्र होइन सम्पूर्ण तहको गुणस्तरीय शिक्षामा निजी विद्यालयहरूले महत्वपूर्ण योगदान दिएका छन् । तर, सरकारले जहिल्यै हामीलाई सौतेनी व्यवहार मात्र गर्दै आएको छ’, सम्बाहाम्फेले भने, ‘शिक्षासँग प्रत्यक्ष संलग्न हुने र योगदान गर्ने हाम्रो सङ्गठनसँग सरकारले सहाकार्य नै गर्न खोजेको छैन ।’
शिक्षा क्षेत्रको विकासका लागि विभिन्न सरकारी, सङ्घ संस्थाहरूसँग सुमधुर सम्बन्ध भए पनि नीति निर्माणमा भने परामर्श नै लिने नगरेको सम्बाहाम्फेले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सिर्जना गर्दै निजी विद्यालयको योगदानलाई थप रचनात्मक बनाउनुपर्नेमा उनको जोड थियो ।