इटहरीः नेपाली संस्कृतिको बारेमा प्रवचन दिन र विभिन्न सांस्कृतिक प्रस्तुति दिनलाई विभिन्न देशका व्यक्तिहरू इटहरीमा आइपुगेका छन् । सांस्कृतिक प्रवचन दिन बेलायत र सांस्कृतिक नृत्य प्रस्तुत गर्न ब्राजिल र रसियाबाट कलाकारहरू इटहरीमा आएका छन् ।

हरेकृष्ण आध्यात्मिक प्रतिष्ठान इटहरीको आयोजनामा आज हुने प्रवचनको लागि बेलायतका स्वामी एचएच महाविष्णु इटहरीमा आएका हुन् । इटहरीको रिजाल्स भिजन पार्टी प्यालेसमा आज दिउँसो साढे १२ बजे हुने कार्यक्रममको लागि ब्राजिल र रसियाका कलाकारहरू पनि इटहरीमा आएका आयोजकले बताएको छ ।

सांस्कृतिक कार्यक्रम अगाडि हरिनाम सङ्कीर्तन र नगरपरिक्रमा हुने भएको छ । ११ बजेबाट हुने नगरपरिक्रमा राधाकृष्ण मन्दिर, इटहरी हस्पिटल रोड, जनता स्कुल, दीपेन्द्र चोक, मेन रोड हुँदै रिजाल्स भिजनसम्म पुग्नेछ ।

निःशुल्क प्रवेशका साथ हुने यो सांस्कृतिक कार्यक्रमलाई आयोजकले ‘नेपाली संस्कृति, विदेशी प्रस्तुति’ नाम दिएको छ । कीर्तन, नृत्य, पुस्तक मेला र प्रसादग्रहण लगायतका अन्य कार्यक्रहरू पनि यो कार्यक्रममा समेटिएका छन् । इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन)ले यो कार्यक्रमको नेतृत्व गर्ने इस्कनसम्बद्ध स्वामी ललितले बताए ।