सङ्खुवासभाः सङ्खुवासभाको भोटखोला गाउँपालिकाकी ८२ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । भोटखोला गाउँपालिका वडा नं ४ की तुलिमाया तामाङले ८२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् ।
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आयोजना गरेको नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले उनको गाउँमा नै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे । ‘वृृद्ध अवस्थामा रहनुभएकालाई गाउँघरमा नै गएर सार्वजनिक सेवा सुविधा दिन पाउँदा आफू निकै खुशी भएको छु’, प्रजिअ अधिकरीले भने ।
‘मलाई आशा नै थिएन यो नागरिकता लिन्छु भनेर । यसअघि खासै नागरिकताको काम पनि परेन,’ ८२ वर्षको उमेरमा नागरिकता लिँदा दङ्ग परेकी तुलिमायाले भनिन्, ‘चाहिएको पनि थिएन, तर भत्ता खाने उमेर भएर भत्ता खानलाई खोज्दा नागरिकता नभएपछि पाइनँ, अब त पाउँछु होला नि ?’ यो उमेरमा नागरिकता प्रदान गर्ने मानिस आफ्ना लागि भगवान् नै भएको उनले बताइन् ।
एउटै गाउँपालिकाका ७० वर्ष माथिका ९ जनालाई नागरिकता
भोटखोला गाउँपालिकामा मात्रै ७० वर्ष माथिका नौ जना ज्येष्ठहरूलाई नेपाली नागरिकता प्रदान गरिएको छ । एउटै गाउँपालिकामा यतिको सङ्ख्याका नागरिक नागरिकताविहीन छन् भने जिल्ला भरिको अवस्था कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ । भोटखोला क्षेत्रमा भोटखोला गाउँपालिकाको वडा नं १, २ र ३ लाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा एक जना पुरुषसहित ४ जना ज्येष्ठ नागरिकले नागरिकता लिए । त्यस्तै, भोटखोलाको वडा नं ४ र ५ लाई लक्षित गरी गोलाबजारमा राखिएको शिविरमा ५ जना ज्येष्ठ नागरिकले नागरिकता लिएका छन् ।
शिविरमा भोटखोला गाउँपालिका वडा नं २ की दिचिक भोटेले ७३ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् भने सोही ठाउँकी थिजुङ भोटेले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् । यता, भोटखोलाको वडा नं ४ र ५ लाई लक्षित गरी सञ्चालित शिविरमा भोटखोला ४ की तुलिमाया तामाङले ८२ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् ।
एकै गाउँपालिकामा २ सय ८५ जनालाई नागरिकता
जिल्लाको अति दुर्गम मानिने भोटखोला गाउँपालिकामा मात्रै २ सय ८५ जनालाई नेपाली नागरिकता वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, र सरिता खड्कासहित जिल्लाका उच्च पदस्थ अधिकारीको उपस्थितिमा नागरिकता वितरण गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा भोटखोला गाउँपालिकाका मात्रै २ सय ८५ जनाले नागरिकता पाएका हुन् । भोटखोला गाउँपालिकाको वडा नं १, २ र ३ का नागरिकलाई लक्षित गरी हटियामा आयोजित शिविरमा ६७ जनाले नागरिकता पाएका छन् । जसमा ४२ जना महिला र २५ जना पुरुषले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । जसमध्ये २ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको छ ।
त्यस्तै, भोटखोला गाउँपालिकाकै वडा नम्बर ४ र ५ का नागरिकलाई लक्षित गरी आयोजित शिविरमा २ सय १६ जनाले नागरिकता प्राप्त गरेका छन् । ८२ वर्षीया वृद्धासहित १ सय २० महिला र ९८ जना पुरुषले नेपाली नागरिकता प्राप्त गरेको अधिकारीले जानकारी दिए ।