धरानः पशुझैँ दाम्लोमा बाँधिएका एक जना बालकको धरानमा उपचार भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ५ कुरुम्बाङका एक बालकलाई पशुलाई जस्तै दाम्लोले बाँधेर राखिएको थियो । आमा शिला चेम्जोङले दोस्रो विवाह गरेर गएपछि ५ वर्षीय बालक मित्रहाङलाई २ वर्ष अघिदेखि हजुरबुबा र हजुरआमाले दाम्लोले बाँधेर राखेका थिए ।

धान कुट्न प्रयोग गरिने ओखल नजिक घरको सिकुवामा राखी बालकको खुट्टामा दाम्लो बाँधिएको थियो । मित्रहाङकी आमा शिलाले दोस्रो विवाह गरेर गएपछि उनलाई दाम्लोले बाँध्न थालिएको बालकका आफन्तले बताए । आमाले छाडेपछि बालक मित्रहाङ दिनदिनै बिरामी पर्दै गएका थिए । उनको दयनीय अवस्थाको बारेमा विभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशन तथा प्रशारण भएको थियो । त्यसपछि उनको उपचारका लागि सहयोग जुट्न थालेको थियो ।

गत शुक्रबार उनलाई उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । चिकित्सक अरुणकुमार सिंहको नेतृत्वमा उनको उपचार जारी छ । अहिले उनको अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

अहिले मित्रहाङ राम्रोसँग हिँडडुल गर्न सक्छन् । हजुरआमासँग अस्पतालमा रहेका उनको केही समय अझै उपचार गर्नुपर्ने छ । उनको बारेमा सञ्चारमाध्यमबाट थाहा पाएपछि काठमाडौं बस्ने खुशी राई लगायतले उपचारको लागि आवश्यक पर्ने रकम जुटाएका थिए । त्यसका साथै धरानका सहयोगीले पनि चिकित्सक सिंहलाई भेटेर बालकको उपचारका लागि खर्च दिएका थिए ।

उनको श्रवणशक्ति फर्काउन र मानसिक अवस्था दुरुस्त राख्न केही समय लाग्ने चिकित्सकले बताएका छन् । उपचारमा संलग्न चिकित्सक सिंहले भने, ‘लामो समय दाम्लोमा कैद भएका बालकको दिमागी हालत केही कमजोर देखिन्छ । तर उनको श्रवणशक्ति र दिमागी अवस्था फर्काउन सकिन्छ भन्ने लागेको छ ।’ उनले बच्चालाई पूर्ण उपचार गराएर मात्र घर पठाउने बताए ।

mitrasingh pradeshportal bp kihs