धनकुटाः स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिएको फल हो घिउफल अर्थात् एभोकाडो । प्रशस्त व्यावसायिक सम्भावना हुँदाहुँदै पनि नेपालमा व्यावसायिक बन्न नसकेको यो फल धनकुटामा भने व्यावसायिक बन्ने तरखरमा छ ।
स्वास्थ्यवद्र्धक मानिएको एभोकाडो फल धनकुटा भित्रिएको ४७ वर्ष भएको छ । वि.स. २०२८ सालमा कृषि अनुसन्धान केन्द्र पाख्रीबास स्थापना गर्न अनुसन्धानको लागि आएको ब्रिटिस टोलीले यो फल धनकुटा भित्र्याएको मानिन्छ । त्यसपछिको यत्तिका वर्षसम्म व्यावसायिक बन्न नसकेको एभोकाडोको खेती अहिले भने व्यावसायिक बन्न लागेको हो ।
यो फलको खेतीप्रति अहिले किसान उत्साहित छन् । थोरै मिहिनेतबाट राम्रो आम्दानी लिन सकिने भएकाले अहिले धनकुटामा यसको व्यावसायिक खेती शुरु भएको हो । बजारको समस्या नरहेको र थोरै मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफू यो खेतीमा सन्तुष्ट रहेको धनकुटा नगरपालिका वडा नम्बर ५ का किसान गोविन्द श्रेष्ठ बताउँछन् ।
अहिले धनकुटा नगरक्षेत्रमा २६ हजार एभोकाडोका बिरुवा किसानले रोपेका छन् । यीमध्ये १२ हजार फल दिने अवस्थामा छन् । धनकुटामा अहिले वार्षिक २ लाख किलो फल उत्पादन हुने गरेको छ । सबै बिरुवाले उत्पादन दिन थालेपछि करिब २०८० सालदेखि वार्षिक ६ लाख केजी एभोकाडो फल उत्पादन हुने अनुमान कृषि अभियन्ता तथा कृषि विश्लेषक जीवनकुमार राईको छ । हावापानी र भूबनोटको हिसाबले धनकुटा एभोकाडो उत्पादनको हिसाबे नेपालमै उत्कृष्ट रहेको उनको भनाइ छ ।
त्यसो त एभोकाडो खेतीलाई प्रोत्साहन गर्न धनकुटा नगरपालिकाले नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा नै गरेको छ । त्यस्तै, धनकुटा–६ परिचय मोडमा एभोकाडो पार्क निर्माण गरी स्तम्भसमेत राखिएको छ । नगरपालिका आफैँले नर्सरी स्थापना गरी करिब १ लाख बिरुवा वितरणको तयारी गरेको मेयर चिन्तन तामाङ बताउँछन् ।
यो फललाइ घिउफल भनेर पनि चिनिने गरेको छ । व्यावसायिक खेती शुरु भएसँगै बिरुवाको मागसमेत ह्वात्तै बढेको छ । अघिल्लो वर्ष करिब १६ हजार बिरुवा मात्र बिक्री भएको धनकुटा नगरपालिका क्षेत्रबाट यस वर्ष करिब ४० हजार बिरुवा बिक्री भएको छ । यहाँको नर्सरीबाट धनकुटाकै अन्य क्षेत्रसहित धनकुटासँग मिल्दोजुल्दो हावापानी भएको भोजपुर, तेह्रथुम, इलाम लगायतका जिल्लामा बिरुवा जाने गरेको छ । यो फललाई घिउफल भनेर पनि चिन्ने गरेका छन् ।