इटहरीः प्रदेश नम्बर १ का सुनसरी, झापा, उदयपुर र खोटाङमा भएका आगलागीका घटनामा अन्दाजी १६ लाख २१ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खोटाङको हलेसीतुवाचुङ नगरपालिकाको वडा नम्बर ५ चिमाखु बस्ने मौलाबहादुर राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा अन्दाजी साढे ६ लाख मूल्य बराबरको धनमाल नष्ट भएको बताइएको छ । दिउँसो ३ बजे भएको आगलागीमा परी ढुङ्गामाटोले बनेको फुसको छानो भएको २ तले घर र घरभित्र रहेको अन्न तथा लत्ताकपडा र भाँडावर्तन जलेर पूर्ण रूपमा क्षति भएको हो ।
इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
झापाको मेचीनगर–११ बस्ने तीर्थ नेपालको डेढ बिघा खेतमा काटेर राखेको धानको कुन्युमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो करिब सवा १ बजेको समयमा उनकै छोरा ५ वर्षीय योगेश नेपालले सलाइ खेलाउने क्रममा कुन्युमा अचानक आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी १ सय मन धान र पराल जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । सो आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
उता, सुनसरीको बर्जु गाउँपालिका–६ बस्ने राउदी पण्डितको गोठमा जडान गरिएको मिटर बक्सको तार सर्ट भई आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । घटनामा परी पण्डितकी श्रीमती घाइते भएकी छिन् । बिहान साढे ९ बजे भएको उक्त आगलागीबाट पण्डितको घरको अन्नपात, लत्ता कपडा जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा आगोले पोलेर उनकी श्रीमती ५५ वर्षीया सावित्रीदेवी पण्डित घाइते भएकी छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिई आगो नियन्त्रणमा लिएको बताइएको छ ।
उदयपुरको कटारी–९ सिदुरेका कुलबहादुर सुनुवारको २ तले घरमा आगलागी हुँदा अन्दाजी ४ लाख २१ हजार मूल्य बराबरको क्षति भएको छ । गत शुक्रबार दिउँसो २ बजेको समयमा सुनुवारको मतान घरको चुलोमा बालेको आगोबाट अचानक आगलागी भएको थियो ।
आगलागीमा परी मतान घर र ढुङ्गामाटोले बनेको २ तले घरको काठपात जलेर नष्ट भएको बताइएको छ ।