झापाः राजस्व सङ्कलनमा पूर्वकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७५÷२०७६ को मंसिर दोस्रो सातासम्म असुलीको तुलनामा प्रगति गर्न सकेको छैन ।
पछिल्लो समय राजस्व नपुग्नुको मुख्य कारण भनेको राजस्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी आउनु भएको भन्सार अधिकारी बताउँछन् । कुल राजस्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । त्यसपछि कोइलाले राजस्व धानेको छ । बर्खासँगै मुख्य वस्तुको आयातमा ओरालो लागेपछि कार्यालयले लक्ष्य पूरा गर्न नसकेको भन्सार अधिकारीको भनाइ छ । बङ्गलादेशबाट आयातीत पेयपदार्थ, खाद्य वस्तुलगायतले कुल राजस्वको ४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारी बताउँछन् ।
प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार यो अवधिसम्म ४ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि ३ अर्ब ८० करोड ५९ लाख रुपैयाँमात्र राजस्व सङ्कलन गरेको छ । जुन रकम लक्ष्यको तुलनामा ७८ प्रतिशतमात्र हो । पूर्वी नाकाबाट हुने मन्द व्यापार र बर्खाका कारण कोइला र पेट्रोलियम पदार्थको आयातमा भएको कमले नै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको भन्सार अधिकारीको भनाइ छ ।
ती अधिकारीका अनुसार साउन महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि कार्यालयले लक्ष्यको तुलनामा ८५ प्रतिशत वा ७५ करोड ९५ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकारीका अनुसार सङ्कलित रकम गत वर्षको सोही अवधिको तुलनामा १९ करोड ८९ लाख १० हजार ६८ रुपैयाँ वा ३५ प्रतिशतले बढी हो ।
यसैगरी, भदौ महिनामा कार्यालयले लक्ष्यको तुलनामा ९२ प्रतिशत अर्थात् ९४ करोड ७२ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड २० लाख ६१ हजार १ सय ३९ रुपैयाँ अर्थात् ३२ प्रतिशत राजस्व वृद्धि गरे पनि चालु आर्थिक वर्षको भदौ महिनाको लक्ष्य भने पुग्न नसकेको कार्यालयले जनाएको छ । भदौ महिनामा भन्सार विभागले कार्यालयलाई १ अर्ब २६ करोड ८८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।
असोज महिनामा भने कार्यालयले लक्ष्यको तुलनामा ५ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि ९४ करोड ५४ लाख ६८ हजार ७ रुपैयाँ अर्थात् १ सय ५ प्रतिशत राजस्व सङ्कलन गरेको बताइएो छ ।
कात्तिक महिनामा १ अर्ब २ करोड ६० लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले लक्ष्यको ७४ प्रतिशतभन्दा बढी असुल गर्न सकेन । सो महिनामा ७५ करोड ८१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ सङ्कलन भएको छ ।
मंसीर दोस्रो साता सम्ममा कार्यालयले ३९ करोड ५३ लाख ९७ हजार ३ सय ७७ रुपैयाँ अर्थात् ३९ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । मंसीरको लक्ष्य १ अर्ब २ करोड ६० लाख ८८ हजार रुपैयाँ छ ।
भन्सार विभागले मेची भन्सारलाई चालु आर्थिक वर्ष २०७५÷२०७६ को वार्षिक कुल लक्ष्य १२ अर्ब ८२ लाख ६१ लाख ५ हजार रुपैयाँ दिएको छ ।
यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टीतेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्कर, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ आयल, मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
मुसुरो दाल, भेनियर सिट, चोकर, भुस, आलस, चिया, खयर कत्था, जडीबुटी फलामे संरचना, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपर, लगायतका वस्तुहरु नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन् ।